चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन - Chaitanya News
  • 2026-10-08
  • 12:16:50
  • बिहिबार,आश्विन २२, २०८३
  • चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

    चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

    धनगढीः भारतीय चलचित्रका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। हिन्दी तथा मराठी चलचित्रमा आफ्नो प्रभावशाली अभिनय र विशिष्ट संवादशैलीमार्फत अलग पहिचान बनाएका पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा निधन भएको हो।

    विश्वनाथ पाटेकर नामले समेत चिनिने नाना पाटेकरलाई गोवाको डोना पाउला क्षेत्रमा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि तत्काल निजी अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म निरन्तर मुटुको धड्कन फर्काउने प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। अस्पतालका चिकित्सकका अनुसार उनलाई बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो।

    प्रारम्भिक जानकारीअनुसार उनको मृत्यु हृदयाघातका कारण भएको आशंका गरिएको छ। यद्यपि मृत्युको यकिन कारण पुष्टि गर्न शव परीक्षणसमेत गरिने जनाइएको छ। यस सम्बन्धमा चिकित्सकीय–कानुनी प्रक्रिया अघि बढाइएको छ।

    सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा जन्मिएका पाटेकरले सन् १९७८ मा प्रदर्शनमा आएको ‘गमन’ चलचित्रबाट आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले हिन्दी र मराठी चलचित्रमा दर्जनौँ स्मरणीय भूमिका निर्वाह गरे।

    ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘अग्निसाक्षी’, ‘अपहरण’, ‘नटसम्राट’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रमा उनको अभिनय निकै चर्चित रह्यो। विशेषगरी गम्भीर, जटिल तथा चुनौतीपूर्ण पात्रलाई जीवन्त बनाउने उनको अभिनयशैलीले उनलाई भारतीय चलचित्रमा विशिष्ट स्थान दिलाएको थियो।

    पाटेकरले अभिनयसँगै निर्देशन र रङ्गमञ्चमा समेत काम गरेका थिए। चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनले तीनवटा राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थिए। भारत सरकारले उनलाई सन् २०१३ मा ‘पद्मश्री’बाट सम्मानित गरेको थियो।

    चलचित्रबाहेक पाटेकर सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय थिए। उनले स्थापना गरेको ‘नाम फाउन्डेसन’मार्फत खडेरी तथा विपद्बाट प्रभावित किसानलाई सहयोग गर्दै आएका थिए। उनको निधनसँगै भारतीय चलचित्र क्षेत्रले बहुआयामिक प्रतिभाका एक प्रभावशाली कलाकार गुमाएको छ।