काठमाडौं– नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ यसलाई मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्। उनले भने,‘नेपाल–भारत सम्बन्धको कुार गर्दा, भोलि भारत स्तवन्त्र भएको ७५औं वर्ष हो, नेपाल र भारतको सम्बन्धको कुरा गर्दा हामी नजिकका छिमेकी हौं। अरुसँग तुलना गर्ने ठाउँ छैन्। संस्कृति, आर्थिक, सामाजिक, धार्मिक यी सबै हिसाबले हामी नजिक हौं। हाम्रा धेरै पक्ष राम्रा हुादाहुँदैपनि कतिपय पक्ष मिलाउनुपर्छ। पूराना विषय समाधान गरेर जानुपर्छ। नयाँ विषय पनि थपिएको छ। इतिहासले छोडेको विषय, हामीले समाधान गर्ने प्रत्यत्नपनि गर्यौं।’
दुई देशबीचका समस्या समाधानको लागि गठित इपिजीले प्रतिवेदन तयार पारेर बुझाउन खोज्दापनि भारतले नबुझेकोमा भने गुनासो पोखे। उनले भने,‘इपिजीको प्रतिवेदन लिन भारत हिच्किचायो। त्यो प्रतिवेदनले धेरै विषयलाई सम्बोधन गरेको थियो। प्रतिवेदन तयार पारेको पाँच वर्ष पुग्दापनि भारतले बुझ्न आलटाल गर्यो। समस्या समाधान गर्न प्रयास गरौं भनेका छौं। भारतीय राजनीतिक नेतृत्व, बौद्धिक नेतृत्व, नीति र निर्माणमा रहेकाहरले यस्तो विषयमा सहमति गरेर अघि बढेका विषयमा अब पर्खिएर बस्नुहुँदैन्।’
भट्टराईले दुई देशबीच कतिपय पूराना विषय वार्ताको टेबुलमा बसेर टुँगो लगाउनुपर्ने पनि सुनाए। उनले भने,‘पूरानो विषय त छँदै छन्, नयाँ विषय पनि छन्। व्यापार घाटाको विषय छ। यो कुराको पनि सम्बोधन गर्नुपर्छ। व्यापार घाटा कम चाहीँ वस्तु उत्पादन गरेर हुँदैन्। हाम्रो अहिले भनेको विद्युत उत्पादन हो। यो भारत निकासा गर्दा व्यापार घाटा कम गर्न सकिन्छ। अहिले हामीले २००० देखि २२ सय मेगावाटसम्म उत्पादन गर्न सकेका छौं। पारस्परिक सहमतिअनुसार बढ्नुपर्छ। तेस्रो मुलुकले लगानी गरेको विद्युत किन्दैनौं भनेर भारतले भनेको छ। ठेक्कामा तेस्रो मुलुक संलग्न भएको उत्पादित विजुली नकिन्ने भनेको छ। यो त भारतजस्तो ठूलो मुलुकलाई सुहाउने कुरा होईन।’
उनले वार्ताको टेबुलमा बस्दा वार्ता राम्रो हुने गरेको तर कार्यान्वयनको तहमा जाँदा समस्या हुने गरेको टिप्पणी गरे। उनले भने,‘वार्ताको टेबुलमा बस्दा कुरा नाइस हुन्छ। कार्यान्व्यनमा जाँदा समस्या हुन्छ। भारत अहिले जुन ढंगले उदय भएको छ। उ विश्वकै लिडरसिपको ठाउँमा पुग्दैछ। उसको पनि अन्तर्राष्ट्रिय भूमिकामा विश्वसनीयता बढ्दै जान्छ। यहाँ अघि दीपकुमार उपाध्यायले उठाएको विषयमा मैले आपत्ति मान्नुपर्ने केही छैन्। सम्बन्ध राम्रो हुनुपर्छ। मित्रतापूर्ण हुनुपर्छ। तर, समस्यालाई यथावत राखेर होईन। समस्या समाधान गरेर जानुपर्छ।’ उनले अहिलेको सरकारले सबैसँग राम्रो सम्बन्ध कायम गर्ने पनि विश्वास दिलाए।