गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनुपर्छ : लिङ्देन - Chaitanya News
  • 2026-05-11
  • 04:01:41
  • आइतबार,बैशाख २७, २०८३
  • गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनुपर्छ : लिङ्देन

    गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनुपर्छ : लिङ्देन

    काठमाडौं– उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनु पर्ने धारणा व्यक्त गरेका छन्।

    निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गरेका हुन्।

    सबै निर्माण व्यवसायीले काम पाउनु पर्छ भन्ने मान्यता राख्दै उपप्रधानमन्त्री लिङ्देनले क्रसर उद्योग बन्द भएका कारण निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने जानकारी गराए।

    महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको समस्याले निर्माण कार्य ठप्प रहेको बताए। निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम बीस प्रतिशत मोबिलाइजेशन पेस्की व्यवसायीले पाउनु पर्ने अध्यक्ष सिंहले बताए।

    व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण बताए।

    महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री लिङ्देनको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ। महासंघ प्रतिनिधिमण्डलमा महासंघ अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए..डी.), महासचिव रोशन दाहाल, महासंघ कार्य समिति सदस्यहरू दानबहादुर खड्का, उज्जवल गौतम, यज्ञबहादुर खत्री, सुशील कुमार श्रेष्ठ र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए।