धनुषा– मधेश र थरुहट आन्दोलनका क्रममा आन्दोलनकारी व्यक्तिमाथि झुठा मुद्दा लगाइएको भन्दै झुठा मुद्दा फिर्ताको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार प्रदर्शन भएको छ।
नागरिक समाज नेपाल र नागरिक समाज जनकपुरधामले आज संयुक्त रूपमा निकालेको विरोध र्यालीमा सहभागी भएकाहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। जनकपुरधामको भानूचोकबाट निस्केको र्याली नगरको विभिन्न भागको परिक्रमा गरी जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो।
कोणसभामा नेता रामरिझन यादव र युवा नेता दिनेश पूर्वे लगायतले नेतृत्व गरेका थिए। कोणसभामा बोल्दै वक्ताहरूले मधेश आन्दोलनका क्रममा राज्यले धेरै जनतामाथि झुठा मुद्दा लगाएकाले त्यसको फिर्ताको माग गरेका छन्।
टीकापुर घटनासहित मधेस आन्दोलनको क्रममा भएका घटनाबारे अध्ययन गर्न सरकारले पूर्व न्यायाधीश गिरिसचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छैन।