मधेश प्रदेश सरकारमा लोसपालाई सहभागी नगराइने - Chaitanya News
  • 2026-05-11
  • 03:54:16
  • आइतबार,बैशाख २७, २०८३
  • मधेश प्रदेश सरकारमा लोसपालाई सहभागी नगराइने

    मधेश प्रदेश सरकारमा लोसपालाई सहभागी नगराइने

    जनकपुरधाम– मधेश प्रदेशका सत्ता साझेदार दलहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा सहभागी नगराउने निर्णय गरेको छ।

    मंगलबार प्रदेशस्थित सत्ता साझेदर दलको मन्त्रालय बाँडफाँटबारे बसेको बैठकमा लोसपाले प्रदेश सरकारलाई समर्थन र सभामुख निर्वाचनमा सहयोग गरेपनि संघीय सभामुखको निर्वाचनमा सहयोग नगरेका कारण तत्काल सरकारमा सहभागी नगराउने निर्णय गरिएको छ।

    बैठक पश्चात पत्रकारहरूसँग कुरा एमाले संसदीय दलका नेता सरोज यादवले यस्तो निर्णय भएको बताएका हुन्।

    उनले भने, लोसपाले हामीलाई प्रदेशमा सरकार निर्माणदेखि सभामुख निर्वाचनसम्म सहयोग गर्दा सरकारमा सहभागी गराउने तयारी गरिएको थियो। संघीय सभामुखको निर्वाचनमा विपक्षी दल कांग्रेसलाई सहयोग गरेको हुनाले लोसपालाई तत्काल प्रदेश सरकारमा सहभागी नगराउने निर्णय गरिएको हो।

    साथै मन्त्रिपरिषदको विस्तार र बिनाविभागी मन्त्रीको जिम्मेवारी बाँडफाँट तीन दिनभित्रै गर्ने र हाल कायम रहेका मन्त्रालयमा कुनै थपघट नगरी मन्त्री र राज्यमन्त्रीको संख्या पनि विगतकै यथावत राख्न सत्ता साझेदार दलहरूबीच सहमति भएको समेत उनले बताए।

    पूर्वसहमति अनुसार मन्त्रालय बाँडफाँटमा माओवादी केन्द्रलाई एक, जनमतलाई दुई, जसपालाई मुख्यमन्त्रीसहित तीन र एमालेलाई चार मन्त्रालय दिइने छ। यसमा कुनै हेरफेर नगरिएको उनले जानकारी दिए।

    संघीय सरकारमा जसपा सहभागी नभएका कारण केन्द्रीय गठबन्धन सहमतिको वातावरण नबनेकाले प्रदेशमा पनि मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँटमा ढिलाई भइरहेको बुझिएको छ। पछिल्लो पटक केन्द्रमा जसपा र जनमतबीच सरकार संचालन र जिम्मेवारी बाँडफाँटबारे छलफल पनि भएको थियो। तर, कुनै निष्कर्षमा पुग्न सकेको थिएन।

    मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। त्यो बेला मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सरकार विस्तार र बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाँट गर्ने भनिएको थियो।