वीरगन्जमा तस्करीको सामानसहित तीन सवारी साधन बरामद - Chaitanya News
  • 2026-10-28
  • 06:35:26
  • बुधबार,कार्तिक १२, २०८३
  • वीरगन्जमा तस्करीको सामानसहित तीन सवारी साधन बरामद

    वीरगन्जमा तस्करीको सामानसहित तीन सवारी साधन बरामद

    वीरगन्ज– वीरगन्जमा प्रहरीले एकैदिन दुई करोडभन्दा बढी मूल्यको तस्करीको सामानसहित तीनवटा सवारी साधन बरामद गरेको छ।

    भारतबाट राजश्व छलेर भित्र्याइएको आशंकामा सोमबार प्रहरीले वीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट ती मालसामान सहितको दुईवटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको हो।

    वीरगन्जको आइसिपी हुँदै काठमाडौं जाँदै गरेको बीआर ०५ जी ९४९१ नम्बरको पिकअप गाडी वीरगन्ज २६ ड्राइपोर्ट चोकबाट, ना ५ ख ३८४७ नम्बरको ट्रक र बाप्र ०३–००१ ख १२६४ नम्बरको ट्रक वीरगन्ज १० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।

    चेकजाँचका क्रममा तीनवटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ लाख ९२ हजार ४५२ रुपैयाँ मूल्यको लत्ताकपडा र खुद्रा सामानहरू बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

    बिलबिजक बेगरका सामान फेला परेपछि तीनवटै गाडी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरीले बताए।