मैले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव उठाएको होइन : नेता पौडेल - Chaitanya News
  • 2026-05-11
  • 02:49:08
  • आइतबार,बैशाख २७, २०८३
  • मैले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव उठाएको होइन : नेता पौडेल

    मैले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव उठाएको होइन : नेता पौडेल

    काठमाडौँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव नउठाएको दाबी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बौल्दै सांसद पौडेलले अहिले मूलतः तीन कारणले राष्ट्रिय सहमतिको खाँचो रहेको बताए।

    ‘मैले अहिले मात्रै होइन, पहिलेदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएँ। तर कतिपयलाई आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोज्यो भन्ने हुनसक्छ, तर त्यो होइन,’ उनले अघि भने, ‘म पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा उभिएर आएको हुँ। देशलाई संकटबाट मुक्त गर्नु हामी सबैको कर्तव्य हुन जान्छ।’

    नेता पौडेलले अहिले मुलुकको कमसल अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रियाका कामको पूर्णताका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताए। ‘हाम्रो देशको अर्थतन्त्र अहिले कमसल बनेको छ। देशको आर्थिक समृद्धिका लागि दलहरू मिल्नु आवश्यक छ,’ उनले भने, ‘अर्को हामीमाथि नयाँ भूराजनीतिक दबाब छ, हाम्रो आकाशमाथि शीतयुद्ध मडारिरहेको छ। हिजो शीतयुद्ध युरोपको आकाशमा मडारिएको थियो, अहिले हाम्रो हिमालमाथि चलिरहेको छ। स्विजरल्यान्डले कसरी आफूलाई बचयो, नेपालले त्यसबाट पाठ सिक्नु जरुरी छ।’

    नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई यथाशीघ्र पूर्णता दिनुपर्ने र त्यसकालागि भए पनि दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए। ‘हाम्रो शान्ति प्रक्रिया अझै टुंगिएको छैन। यसलाई टुंगोमा पुर्‍याउनु हाम्रो कर्तव्य हो । शान्ति प्रक्रियाका जति पनि बाँकी काम छन्, द्वन्द्वका घाउहरू छन्, त्यहाँ हामीले मलम लगाउन सक्नुपर्छ,’ उनले भने।

    पौडेलले देशमा संघीयतासँगै कुशासन मौलाएको र भ्रष्टाचारीहरूले दलीय संरक्षणमा मनमौजी गरिरहेको आरोप लगाए। ‘नागरिकले सुशासन चाहेका छन्। तर, हामी कहाँ सुशासनको अवस्था दयनीय छ, वास्तबमा देशभर कुशासन मौलाएको छ,’ उनले भने, ‘हामीले शासकीय विकेन्द्रीकरण त गर्‍यौँ, तर भ्रष्टाचारको पनि विकेन्द्रीकरण भएको छ। एउटा भ्रष्टाचारीलाई हामीले कारबाही गर्न सकिरहेका छैनौँ। दलहरूले अपराधीलाई संरक्षण दिने र प्रोत्साहन दिने प्रवृत्तिलाई हामीले सधैंका लागि अन्त्य गर्नुपर्नेछ।’

    उनले मुलुकको राजनीति चुनौतीपूर्ण परिस्थितिबाट अघि बढिरहेकाले यसबाट बाहिर निकाल्नका लागि पनि राष्ट्रिय सहमति आवश्यक हुने बताए।

    नेता पौडेलले मुलुकमा नेतृत्वको अभाव भएजस्तो महसुस भइरहेको बताए। ‘नेतृत्वको अभाव जस्तो महसुस हुँदैछ। राष्ट्रिय नेतृत्व र आत्मविश्वासको अभाव देखिरहेको छु। सत्ताको राजनीतिको दबदबा बनेको अवस्था छ,’ पौडेलले प्रश्न गर्दै भने, ‘निष्ठाको राजनीति किनारा लाग्दा निराशाका घण्टीहरू बजिरहेका छन्। नकारात्मक प्रवृत्तिले प्रोत्साहन पाइरहेको छ। असन्तुष्टिको घण्टी त बजिसक्यो, अब त्यसलाई सम्बोधन गर्न दलहरू एकतावद्ध हुने कि नहुने?’

    उनले नेतृत्वले आत्मविश्वास गुमाएका कारण अहिलेको संकट पैदा भइरहेको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि समेत सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सक्नुपर्ने बताए। ‘हाम्रो संविधान संकटमा परिरहेको महसुस हुन्छ। लोकतन्त्र जकडिएको अवस्थामा छ, अति दलबन्दीबाट लोकतन्त्र जकडिएको छ। पुर्वाग्रहहरूबाट लोकतन्त्र जकडिएको छ । विभाजित मानसिकताबाट ग्रसित बनेको छ,’ उनले भने, ‘त्यसैले लोकतन्त्र सत्ताको खेलमा जकडिएको छ। यस्तो खेलबाट लोकतन्त्रको संमृद्ध हुन सक्दैन।’