धनगढीः सेवा निवृत्त शिक्षक जगदीश ऐरले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई तीनवटा पुस्तक प्रदान गर्दै अभिनन्दन गरेका छन्।
धनगढीको विकास र रूपान्तरणका लागि नगर प्रमुख हमालले गरिरहेको प्रयास, जनमुखी नेतृत्व र समर्पणको प्रशंसा गर्दै ऐरले पुस्तकसहित शनिवार धनगढीस्थित नगर प्रमुखकै निवासमा पुगेर अभिनन्दन गरेका हुन्।
ऐरले आफ्नो हस्तलिखित शुभकामना सन्देशमा हमालको नेतृत्वमा धनगढीमा भइरहेको विकास निर्माण, सुशासन र सकारात्मक परिवर्तनको प्रशंसा गरेका छन्। उनले नगर प्रमुख हमालले आफ्नो कार्यकालमा धनगढीको विकास र समृद्धिका लागि देखाएको सक्रियता, प्रतिबद्धता र निरन्तर प्रयासलाई उदाहरणीय बताए।
सेवा निवृत्त शिक्षक ऐरले सडक तथा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सरसफाइ, नागरिक सहभागिता, पारदर्शी कार्यप्रणाली र सहरी सुन्दरतालगायतका क्षेत्रमा भइरहेको कामको चर्चा गरेका छन् । यी प्रयासले धनगढीलाई व्यवस्थित, समृद्ध र नमुना सहरका रूपमा विकास गर्न सहयोग पुग्ने ऐरको विश्वास छ।
ऐरले नगर प्रमुख हमालको उच्च नैतिक गुण, स्पष्ट दृष्टिकोण, दृढ इच्छाशक्ति र जनताप्रतिको उत्तरदायित्वको प्रशंसा गर्दै उनको नेतृत्वले धनगढीको विकासमा नयाँ आशा जगाएको उल्लेख गरेका छन्।
सेवा निवृत्त शिक्षक ऐरले पुस्तकहरूलाई आफ्नो तर्फबाट स्नेह र सम्मानको कोसेलीका रूपमा प्रदान गर्नुभएको हो। उनले नगर प्रमुख हमालले आफ्नो कार्यकाल सफल बनाउन इमानदार भइ काम गरिरहेको चर्चा गर्दै बाँकी कार्यकाल अझ सफल, उपलब्धिमूलक र जनअपेक्षाअनुरूप बनोस् भन्दै उत्तरोत्तर प्रगति, सु–स्वास्थ्य, दीर्घायु र सफलताको कामनासमेत गरेका छन्।
स्वतन्त्र मेयरको रुपमा निर्वाचित हमालले कुनै पनि पार्टीमा नलागी स्वतन्त्र नै रहनु इमानदारीको उदाहरण भएको बताए। शिक्षक ऐरले “स्वास्थ्य रक्षक, गुणरत्नमाला र स्वर्ण पथ” नामक पुस्तक नगर प्रमुख हमाललाई हस्तान्तरण गरेका हुन्।
जगदीश ऐर को हुन्?
बैतडीमा जन्मिएर सुदूरपश्चिमका विभिन्न विद्यालयमा ४२ वर्ष अध्यापन गरेका जगदीशसिंह ऐर शिक्षण पेसालाई जागिरभन्दा बढी सेवासाधना ठान्ने आदर्श शिक्षक हुन्। २५ वर्षसम्म एक दिन पनि बिदा नबसी अध्यापन गरेका उनले घरमा अतिरिक्त कक्षा पढ्न आउने विद्यार्थीसँग समेत कहिल्यै शुल्क लिएनन्।
अङ्ग्रेजी, गणित, विज्ञान, नेपालीलगायत विभिन्न विषयमा दख्खल राख्ने ऐर विद्यार्थी र अभिभावकमाझ लोकप्रिय तथा सहकर्मीहरूका नजरमा कर्मठ, इमानदार र बहुप्रतिभाशाली शिक्षकका रूपमा परिचित छन्।
बढुवा र व्यक्तिगत सुविधाभन्दा अध्यापन र विद्यार्थीको भविष्यलाई प्राथमिकता दिएका उनी गत मंसिर ९ गते उमेर हदका कारण सेवा निवृत्त भएका हुन्।
सेवा निवृत्तिपछि पनि विद्यार्थीलाई पढाउने र सिकाउने क्रमलाई निरन्तरता दिइरहेका ऐर अध्ययन, लेखन र सामाजिक विषयमा रुचि राख्छन्। आफ्नो लामो शिक्षण अनुभव र सामाजिक दृष्टिकोणलाई आत्मसात् गर्दै सार्वजनिक नेतृत्व, सुशासन र विकासका सवालमा चासो राख्ने ऐरले नगर प्रमुख गोपाल हमाललाई पुस्तक प्रदान गरी अभिनन्दन गर्नु पनि ज्ञान, विचार र सकारात्मक कामप्रतिको उनको सम्मानभावको एउटा उदाहरण हो।
शिक्षक ऐर हाल धनगढी-३ विशालनगरमा बस्दै आएका छन् भने पुर्ख्यौली घर बैतडीको पाटन नगरपालिकास्थित घनघस्याको उकालोमा पर्दछ।