आठ हजार मिटरमाथिका ६ हिमाललाई छुट्टै मान्यता दिलाउन पर्यटनमन्त्रीको पहल - Chaitanya News
  • 2026-10-30
  • 14:28:45
  • शुक्रबार,कार्तिक १४, २०८३
  • आठ हजार मिटरमाथिका ६ हिमाललाई छुट्टै मान्यता दिलाउन पर्यटनमन्त्रीको पहल

    आठ हजार मिटरमाथिका ६ हिमाललाई छुट्टै मान्यता दिलाउन पर्यटनमन्त्रीको पहल

    काठमाडौँ– नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूची विस्तार गर्ने पहल अघि बढाएको छ। हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल सूचीकृत रहेकामा नेपालले थप ६ हिमाललाई छुट्टै पहिचान दिलाउन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्ताव अघि सारेको हो।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ ले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारण सभामा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।

    काठमाडौँमा शुक्रबारदेखि सुरु भएको साधारण सभा शनिबार सम्पन्न हुँदैछ। नेपालले यालुङ काङ, कञ्चनजंघा दक्षिण, कञ्चनजंघा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ।

    प्रस्तावित हिमालमध्ये यालुङ काङ ८ हजार ५०५ मिटर, कञ्चनजंघा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजंघा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर अग्ला छन्।

    नेपालको प्रस्ताव अन्तर्राष्ट्रिय रूपमा स्वीकृत भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ। त्यसमा नेपालका हिमालको संख्या मात्रै आठबाट बढेर १४ पुग्नेछ। अर्थात् विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको नयाँ पहिचान स्थापित हुनेछ।

    मन्त्री पौडेलले यो पहललाई नेपालको पर्वतीय पहिचान अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्। उनका अनुसार यसले पर्वतारोहण र साहसिक पर्यटनको दायरा विस्तार गर्नुका साथै हिमाली अनुसन्धान तथा पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खोल्नेछ।

    उनले भने, “नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास लिएका छौँ।”

    नेपाल पर्वतारोहण संघको आतिथ्यमा भइरहेको सम्मेलनमा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाको सहभागिता छ। नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि यूआईएएको साधारण सभा आयोजना गरिसकेको छ।

    हिमालको संख्या र अन्तर्राष्ट्रिय वर्गीकरणको विषयसँगै सम्मेलनमा जलवायु परिवर्तनका कारण बढ्दै गएको हिमाली जोखिम, प्राकृतिक सम्पदाको संरक्षण र पर्वतीय समुदायको जीविकोपार्जनका सवालसमेत उठाइएका छन्।

    छ हिमालले छुट्टै अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालको पर्वतीय पहिचान र पर्यटन सम्भावना थप फराकिलो हुने अपेक्षा गरिएको छ।