काठमाडौंका यी क्षेत्रमा ८ दिनसम्म दैनिक साढे ५ घण्टा बिजुली कटौती हुने - Chaitanya News
  • 2026-10-31
  • 15:03:09
  • शनिबार,कार्तिक १५, २०८३
  • काठमाडौंका यी क्षेत्रमा ८ दिनसम्म दैनिक साढे ५ घण्टा बिजुली कटौती हुने

    काठमाडौंका यी क्षेत्रमा ८ दिनसम्म दैनिक साढे ५ घण्टा बिजुली कटौती हुने

    काठमाडौँ– भूमिगत विद्युत् प्रसारण लाइन विस्तारको काम अघि बढेसँगै काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा काम गर्न विद्युत् कटौतीको तालिका सार्वजनिक गरेको हो।

    प्राधिकरणका अनुसार कात्तिक १३ देखि २० गतेसम्म विभिन्न मितिमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। भूमिगत लाइन विस्तारका लागि आवश्यक प्राविधिक काम गर्न विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ।

    त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् अवरुद्ध हुनेछ। कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् कटौती गरिनेछ।

    कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। त्यसैगरी, कात्तिक १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

    कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् कटौती हुनेछ भने कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ।

    प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका रद्द हुन सक्ने जनाएको छ। भूमिगत विद्युत् लाइन विस्तारको कामका कारण निश्चित समय विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका उपभोक्तालाई आवश्यक व्यवस्था मिलाउन पनि प्राधिकरणले आग्रह गरेको छ।