१५औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न कांग्रेस निर्वाचन आयोग जाने तयारीमा - Chaitanya News
  • 2026-10-30
  • 13:32:13
  • शुक्रबार,कार्तिक १४, २०८३
  • १५औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न कांग्रेस निर्वाचन आयोग जाने तयारीमा

    १५औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न कांग्रेस निर्वाचन आयोग जाने तयारीमा

    काठमाडौँ– नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिलाई आधिकारिक अभिलेखमा अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारी थालेको छ। महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै पार्टीले आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा गर्न लागेको हो।

    कांग्रेसको नयाँ नेतृत्वलाई संस्थागत रूपमा अद्यावधिक गराउने प्रक्रियाअन्तर्गत पार्टीले निर्वाचन आयोगमा विवरण बुझाउने तयारी गरेको हो। यसका लागि आवश्यक कागजात संकलन तथा अन्य प्रक्रियागत काम भइरहेको कांग्रेसले जनाएको छ।

    कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोग जाने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार सबै कागजात र आवश्यक प्रक्रिया पूरा भएपछि आयोगमा विवरण बुझाइनेछ।

    ‘अहिले हामी तयारीमै छौँ। सबै कागजात र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ,’ दुलालले भने, ‘तयारी सम्पन्न भएपछि आयोग जान्छौँ।’

    उनले आयोग जाने निश्चित मिति भने खुलाउन चाहेनन्। यद्यपि, सोमबारभित्रै आयोग पुग्ने गरी तयारी भइरहेको उनको भनाइ छ।

    ‘आज–भोलिमध्ये आयोग जाने तयारी छ। सोमबारभित्र हामी आयोग जान्छौँ,’ उनले भने।

    दुलालले नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने विषयलाई पार्टीको नियमित कानुनी तथा प्रशासनिक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। विधान र प्रचलित कानुनअनुसार गर्नुपर्ने काम भएकाले त्यसैअनुसार अघि बढ्ने उनले बताए।

    यसअघि बिहीबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो।

    मंसिरको अन्तिम साता सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले शपथ ग्रहण गरेपछि अब पार्टीको नयाँ नेतृत्वसम्बन्धी विवरण निर्वाचन आयोगको अभिलेखमा अद्यावधिक गराउने प्रक्रिया अघि बढ्न लागेको हो।