नेपाल टेलिकममा जागिरको अवसर, विभिन्न पदमा खुल्यो विज्ञापन - Chaitanya News
  • 2026-10-30
  • 13:09:52
  • शुक्रबार,कार्तिक १४, २०८३
  • नेपाल टेलिकममा जागिरको अवसर, विभिन्न पदमा खुल्यो विज्ञापन

    नेपाल टेलिकममा जागिरको अवसर, विभिन्न पदमा खुल्यो विज्ञापन

    काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न सेवा र समूहअन्तर्गत रिक्त पदमा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

    लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले विभिन्न तहका प्रशासनिक तथा प्राविधिक पदमा कर्मचारी माग गरेको हो। विज्ञापनअनुसार उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, सहायक प्रशासनिक अधिकृत, सहायक व्यापार अधिकृत, सहायक लेखा अधिकृत, ओभरसियर, टेलिकम टेक्निसियन, सहायक तथा जुनियर टेक्निसियनलगायत पदमा आवेदन दिन सकिनेछ।

    इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।

    कम्पनीले सामान्य दस्तुरमा आवेदन दिने अन्तिम मिति २०८३ साउन ३ गते तोकेको छ। उक्त अवधिमा आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।

    परीक्षा दस्तुर पदको तहअनुसार फरक निर्धारण गरिएको छ। तह ८ र ९ का लागि ८०० रुपैयाँ, तह ६ र ७ का लागि ७०० रुपैयाँ, तह ५ र ४ का लागि ५०० रुपैयाँ तथा तह ३ का लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ। समावेशी समूहमा आवेदन दिने उम्मेदवारले थप दस्तुरसमेत बुझाउनुपर्नेछ।

    पदपूर्तिका लागि लिखित परीक्षा र अन्तर्वार्ता सञ्चालन गरिनेछ। प्राविधिक सेवाअन्तर्गत तह ४ का टेलिकम टेक्निसियन र तह ३ का जुनियर टेक्निसियन पदका उम्मेदवारका लागि प्रयोगात्मक परीक्षा पनि सञ्चालन हुनेछ।

    लिखित परीक्षाको मिति, समय र परीक्षा केन्द्र लोक सेवा आयोगले निर्धारण गरेबमोजिम हुने कम्पनीले जनाएको छ।

    आवेदन दिन चाहने उम्मेदवारले आवश्यक शैक्षिक योग्यता, उमेरको हद, समावेशी समूहअन्तर्गतका प्रमाणपत्र तथा अन्य सर्तसम्बन्धी विस्तृत विवरण नेपाल टेलिकमको वेबसाइटमा प्रकाशित विज्ञापनबाट हेर्न सक्नेछन्।