काठमाडौँः बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि बिहीबारदेखि भारी वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। मौसममा आउने परिवर्तनले देशका अधिकांश भूभाग प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी गर्दै कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश भूभागमा मौसमी प्रतिकूलता देखिने जनाएको हो।
महाशाखाका अनुसार बङ्गालको खाडीमा रहेको ‘अर्णव’ नामक चक्रवात थप शक्तिशाली बन्दै ‘अति शक्तिशाली चक्रवात’ मा परिणत हुने क्रममा छ। यो प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक ११ गते भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानमनजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।
जमिनमा प्रवेश गरेपछि उक्त प्रणालीको प्रभाव कात्तिक १२ गते बिहीबारदेखि नेपालमा सुरु हुने देखिएको छ। विशेषगरी शुक्रबार र शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्र बढी प्रभावित हुने महाशाखाको आकलन छ।
कात्तिक १३ गते शुक्रबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनुका साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
धानबाली भित्र्याउन किसानलाई आग्रह
सम्भावित वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै महाशाखाले किसानलाई धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न अनुरोध गरेको छ।
यस अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहने आकलन गरिएको छ। त्यसैले पर्यटकलाई उच्च हिमाली भूभागमा नजान र त्यहाँ पुगिसकेका भए सुरक्षित स्थानमा रहन महाशाखाले सचेत गराएको छ।
सम्भावित मौसमी प्रतिकूलताका कारण देशभर चिसो बढ्न सक्ने, सडक आसपास पहिरो जान सक्ने तथा हवाई र सडक यातायात अवरुद्ध हुन सक्ने महाशाखाले जनाएको छ। यसले दैनिक जनजीवनसमेत प्रभावित पार्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ।