कांग्रेस महाधिवेशनको मतगणना तीव्र, सानेपामा २५ समूहबाट एकसाथ गणना - Chaitanya News
  • 2026-10-13
  • 12:16:35
  • मंगलबार,आश्विन २७, २०८३
  • कांग्रेस महाधिवेशनको मतगणना तीव्र, सानेपामा २५ समूहबाट एकसाथ गणना

    कांग्रेस महाधिवेशनको मतगणना तीव्र, सानेपामा २५ समूहबाट एकसाथ गणना

    काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न भएको निर्वाचनको मतगणनालाई तीव्र बनाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाइएको हो ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । उनका अनुसार दुई क्लस्टरको मतगणना बिहानै सम्पन्न भएको छ भने चार क्लस्टरमा गणना जारी छ । थप छ क्लस्टरको मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

    निर्वाचन समितिका अनुसार जनसम्पर्कतर्फ दुई महिला र पाँच खुला गरी सात केन्द्रीय सदस्यको मतगणना सकिएको छ । त्यस्तै, पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि सम्पन्न भइसकेको छ ।

    हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ । आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा पनि गणना जारी छ ।

    यसैगरी, सुदूरपश्चिम प्रदेशबाट भूगोलतर्फका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

    अन्य क्लस्टरको मतगणना पनि क्रमशः सुरु गर्ने तयारी छ । दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य तथा अल्पसङ्ख्यक र अपाङ्गतातर्फका सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना हुन बाँकी छ ।

    त्यस्तै, मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य तथा खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य पदको मतगणना पनि गर्न बाँकी छ । पेसागततर्फका खुला र महिला केन्द्रीय सदस्य पदको मतगणनाको तयारीसमेत भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।