दसैँ–तिहार लक्षित गर्दै शुक्लाफाँटामा जङ्गल सफारी खुला - Chaitanya News
  • 2026-10-12
  • 14:25:13
  • सोमबार,आश्विन २६, २०८३
  • दसैँ–तिहार लक्षित गर्दै शुक्लाफाँटामा जङ्गल सफारी खुला

    दसैँ–तिहार लक्षित गर्दै शुक्लाफाँटामा जङ्गल सफारी खुला

    धनगढीः कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ। दसैँ–तिहारको अवसरमा घुमफिरका लागि आउने पर्यटकलाई लक्षित गर्दै निकुञ्जले असोज २७ गते मङ्गलबारदेखि जङ्गल सफारी सञ्चालनमा ल्याउने भएको हो।

    बर्सातका कारण निकुञ्जका सबै मार्ग सञ्चालन गर्न नसकिए पनि पर्यटकलाई सहज रूपमा वन्यजन्तु अवलोकन गराउने उद्देश्यले मुख्य मार्ग खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले चैतन्यखबरलाई जानकारी दिए।

    उनका अनुसार मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौलाको बाटो हुँदै पुनः मझगाउँसम्म पुग्ने मुख्य मार्ग जङ्गल सफारीका लागि खुला गरिएको छ।

    ‘मङ्गलवारदेखि पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ। अहिलेलाई मुख्य मार्ग मात्रै खुला गरिएको हो,’ उनले भने, ‘सफारी खुला भएसँगै दसैँमा पर्यटकले शुक्लाफाँटाको अवलोकन गर्न सक्नेछन्,’ सूचना अधिकारी वाग्लेले भने।

    उनले पर्यटकले जङ्गल सफारीमार्फत शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुगेर वन्यजन्तु अवलोकन गर्न सक्ने बताए। वर्षा रोकिएमा एक साताभित्रै निकुञ्जका भित्री मार्गसमेत सञ्चालनमा ल्याइने उनको भनाइ छ।

    यसैबीच, निकुञ्जले शुक्लाफाँटाको घाँसे मैदानमा घाँस व्यवस्थापनको काम पनि गरिरहेको छ। सूचना अधिकारी वाग्लेका अनुसार निकुञ्जको २० हेक्टर क्षेत्रफलमा घाँस व्यवस्थापन भइरहेको छ। घाँसे मैदान वन्यजन्तुको बासस्थान र आहार व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिन्छ।

    ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ र बाह्रसिङ्गाका लागि प्रसिद्ध छ। निकुञ्जको विशाल घाँसे मैदानमा हजारौँको सङ्ख्यामा बाह्रसिङ्गाका झुण्ड देख्न सकिन्छ।

    निकुञ्ज भ्रमण गर्न नेपाली नागरिकले प्रवेश शुल्क जनही एक सय रुपैयाँ तिर्नुपर्छ भने सार्क राष्ट्रका नागरिकलाई ७५० रुपैयाँ शुल्क लाग्ने सूचना अधिकारी वाग्लेले बताए। यस्तै, सार्क बाहेकका देशबाट आउने पर्यटकले भने प्रवेश शुल्क एक हजार पाँच सय तिर्नुपर्छ। जङ्गल सफारीका लागि गाडीको अलग्गै तीन हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने सूचना अधिकारीले जानकारी दिए।

    निकुञ्जमा २ हजार ३ सय बाह्रसिङ्गा र ५० वटा पाटेबाघ रहेको जनाइएको छ। दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षणका दृष्टिले समेत महत्त्वपूर्ण मानिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दसैँ–तिहारको बिदामा प्रकृति र वन्यजन्तु अवलोकन गर्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ।