वेलिङ्टन– न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन। यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन।
आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ। आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उहाँले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छन ।
बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताइन। “म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो। अब मरो समय हो,” पार्टी बैठकमा विश्रामको घोषणा गर्दै उनले भनीन। फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उनले बताइन। पार्टीका सदस्यले देशलाई नेतृत्व गरेकामा आभार व्यक्त गरेका थिए।
कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्वादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा उनले देशको नेतृत्व गरिन।
सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उहाँ विश्वकै कान्छी महिला सरकार प्रमुख भएकी थिइन। उनले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताएकी छन। पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री भइन।