धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले नयाँ जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ।
सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीमार्फत टोलीले प्रदेशको प्राकृतिक सम्पदालाई विशेष रूपमा सम्मान गरेको छ।
जर्सीको पछाडिको भागमा कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बंगाल बाघको आकृति समावेश गरिएको छ। यसले सुदूरपश्चिमको वन्यजन्तु, जैविक विविधता र प्राकृतिक सम्पदालाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले नयाँ जर्सीमार्फत सुदूरपश्चिमको प्राकृतिक सम्पदा र पर्यटनलाई क्रिकेटसँग जोड्ने प्रयास गरिएको बताए।
क्रिकेटको लोकप्रियतामार्फत सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य, प्राकृतिक सम्पदा र जैविक विविधतालाई देशभर चिनाउने उद्देश्यले जर्सी तयार पारिएको हो।
सुदूरपश्चिम रोयल्सले नयाँ ‘अपि एडिसन’ जर्सी छिट्टै सर्वसाधारणका लागि बिक्रीमा उपलब्ध गराउने जनाएको छ। जर्सी बिक्रीमा आएपछि टोलीका समर्थकहरूले समेत नयाँ जर्सी खरिद गर्न सक्नेछन्।