रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - Chaitanya News
  • 2026-10-28
  • 04:56:03
  • मंगलबार,कार्तिक ११, २०८३
  • रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    जग्गाधनीको अनुमति र जानकारीबिना नापी कार्यालयका कर्मचारीहरूले जग्गाको कित्ता हटाई नक्सा परिवर्तन गरेको खुलेपछि बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

    नापी अधिकृत दुवे, सर्वेक्षक ठाकुरप्रसाद गुरौसमेत चारविरुद्ध सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

    रुपन्देहीको साविक सेमलार गाविस–२ (ग), कित्ता नम्बर ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरेकामा जग्गाधनीको कुनै अनुमति र जानकारीबिना नापी कार्यालयका कर्मचारीहरूले पछाडिको मोहडापट्टिबाट तीन धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

    त्यसपछि सेमलार गाविस– २ (ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि।नं। ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ।

    सो कार्यमा बुटवल उपमहानगरपालिका–१३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको देखिएको आयोगले जनाएको छ।

    उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरबमोजिमको कैद र जरिवानाको मागदाबी गरिएको छ।