काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला–ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले अहिलेको संसद्को तस्बिर असाध्यै डरलाग्दो देखिएको बताएका हुन्।
लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको केसीले बताए। उनले भने, संसद्मा सत्तापक्ष हुन्छ, प्रतिपक्षी हुन्छ। हामीले अन्त देखेको पनि त्यही हो, नेपालमा पनि पहिले देखेको त्यही हो। तर प्रधानमन्त्रीको चुनावमा नाटक देखियो।
त्यस्तै केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेप्रति इंगित गर्दै भने, सरकार बन्नुभन्दा अगाडि कस्ता–कस्ता ठूला–ठूला कुरा आएका थिए। सरकार बनेपछि कसको के छ रेकर्ड? गृहमन्त्रीको के छ रेकर्ड? सहरिया मन्त्रीको के छ रेकर्ड?
नेपालको लोकतन्त्र धराप परेको र यसलाई बचाउन आवश्यक रहेको उनले बताए। त्यस्तै चुनावमा गरिएका वाचा पनि दल र नेताहरूले बिर्सिएर गठबन्धन बनाएको उनको भनाइ छ। सत्ताका लागि इमानजमानको कुरा पनि नहुने,जनतासँग गरेका प्रतिबद्धताका कुरा पनि नहुने, उनले भने।