बाल विवाह न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता - Chaitanya News
  • 2026-10-03
  • 09:36:26
  • शनिबार,आश्विन १७, २०८३
  • बाल विवाह न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता

    बाल विवाह न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता

    धनगढीः सुदूरपश्चिम प्रदेशका भलमनसाहरुले बाल विवाह न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

    बाल विवाह न्यूनीकरणका लागि भलमनसा/बडघर विषयक धनगढीमा भएको दुई दिने कार्यशालामा उनीहरुले बाल विवाह न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन। थारु गाउँका नेतृत्व गर्ने उनीहरुले आफ्नो समुदायमा बाल विवाह नगर्ने र नगराउने वातावरण निर्माणमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

    यसैगरी, २० वर्ष उमेर नपुगी विवाह गर्न नहुने कानुनी प्रावधानका बारेमा समुदायलाई जानकारी गराउने जनाएका छन्। बाल विवाह हुन सक्ने जोखिम तथा सम्भावित घटनाको समयमै पहिचान गरी सम्बन्धित निकायलाई सूचना दिनुका साथै आवश्यक समन्वय गर्ने, साथै समुदायमा २० वर्ष मुनिको विवाह भएमा त्यस्ता विवाह सहभागी नहुने र अरुलाई पनि सहभागी नहुन आग्रह गर्ने उनीहरुको प्रतिबद्धता छ।

    बाल विवाह न्यूनीकरण लागि अभिभावक, बाल क्लब, किशोर–किशोरी, युवा, विद्यालय र समुदायका अगुवाहरुसँग नियमित संवाद र छलफल गर्ने उनीहरुको निचोड छ। ‘मुलुकी अपराध संहिता ऐन, २०७४’ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाहको रुपमा परिभाषित गरेको छ। यस्तो विवाह कसैले गरे वा गराएमा स्वतः बदर हुनुका साथ दण्ड सजायको भागेदार हुने व्यवस्था रहेको छ। त्यस्तै, बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकासँग विवाह गर्नु, गराउनु बालबालिकाविरुद्धको कसुर मानेको छ।

    थारु समुदायमा पनि बाल विवाह भइरहेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित टेढुवा गाउँका भलमनसा विक्रम बखरियाले बताए। उनले १५/१६ वर्षकै बालबालिका उमेर नपुग्दै एकसाथ बस्ने परिपाटी गाउँघरमा पनि अत्यधिक रहेको उल्लेख गरे।

    भलमनसा बखरिया भन्नुहुन्छ,’विवाह भएको हुँदैन। उमेर पुगेको हुँदैन। सँगै बस्दाबस्दै गर्भवती हुन्छन्। अनि, समस्या सुरु हुन्छ। यस्तो घटना गाउँघरमा धेरै छ। यसले हामी भलमनसाहरु पनि समस्यामा छौँ।’

    बेलौरी नगरपालिकाको कार्यपालिका सदस्यसमेत रहनू भएका बखरियाले बालविवाह न्यूनीकरणका लागि वडा कार्यालयबाट सिफारिस नहुँदासम्म विवाहको लागि निम्तो कार्ड छाप्ने र बाँड्ने कार्य गर्न नहुने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे।

    वडाले नै सिफारिसका लागि नागरिकता लगायतका आवश्यक कागजात माग गरेपछि केटाकेटीको उमेर प्रष्टै हुने भन्दै उनले विवाहभन्दा अगाडि सतर्क भएमा बालविवाह रोक्न सकिने बताए। ‘तर, जन्ती पुगिसकेको अवस्थामा भने हामी भलमनसाले पनि विवाह रोक्न सक्दैनौँ। रोकेमा झगडा नै हुने खतरा रहने गर्दछ’, बखरियाले भने।

    त्यस्तै, कैलालीको लिक्मा गाउँका भलमनसा चन्द्र चौधरीले बालविवाह न्यूनीकरणका लागि आफूहरु सक्रिय भएर लाग्ने बताए। उनले समुदायका मानिसलाई बाल विवाह र कानुनी व्यवस्थाका बारेमा पनि जानकारी गराउने उल्लेख गरे।

    सामुदायिक विकास केन्द्र डोटीले कार्यक्रमको आयोजना गरेको थियो। दुई दिनसम्म भएको कार्यक्रममा कैलाली, कञ्चनपुरका सबै पालिकाका भलमनसाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका अधिकृत विदेशराम चौधरी लगायतकाले सहजीकरण गरेका थिए।

    पहाडी जिल्लासहित तराईमा पनि बालविवाह व्याप्त रहेको सामुदायिक विकास केन्द्र डोटीका बाल अधिकार संयोजक एकराज बडूले बताए। उनले थारु समुदायमा पनि यस्तो विवाह भइरहेको पाइएकोले सो समुदायमा हुने बालविवाह न्यूनीकरणका लागि भलमनसाले अग्रणि भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे।