धनगढीः धनगढीस्थित चैतन्य पाठशालाको स्पोर्टस् एकेडेमीको व्यवस्थापकमा क्रिकेटर वसन्तसिंह कार्की नियुक्त भएका छन्। धनगढी-५ मा रहेको चैतन्य पाठशालाले खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले ‘चैतन्य स्पोर्ट्स एकेडेमी’ सञ्चालनमा ल्याएको हो।
क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी कार्की चैतन्य पाठशालाका क्रिकेट कोचसमेत हुन्।
धनगढीसहित आसपासको क्षेत्रका खेलाडीहरूको प्रतिभा, क्षमता प्रवर्द्धन गर्ने र विभिन्न राष्ट्रिय तथा प्रादेशिक प्रतियोगिताहरूका लागि उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले स्पोर्टस् एकेडेमी सञ्चालनमा ल्याइएको विद्यालयले जानकारी दिएको छ।
चैतन्य स्पोर्टस् एकेडेमी सञ्चालनमा आएसँगै विभिन्न खेलका प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छन्। बालबालिका तथा युवा खेलाडीहरूलाई लक्षित गर्दै विभिन्न खेलका व्यावसायिक प्रशिक्षण कार्यक्रमहरू निकट भविष्यमा सञ्चालन गरिने विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले जानकारी दिए।