काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा सल्लाहकार, विज्ञ, स्वकीय सचिवालयका कर्मचारीदेखि प्रेस तथा अनुसन्धानतर्फका जनशक्तिसम्म गरी २५ जनाको जिम्मेवारी सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्रीका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत व्यक्तिहरूको नाम, जिम्मेवारी र उनीहरूले पाउने सेवा–सुविधाको तहसमेत खुलाइएको छ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूहमा पाँच जना छन्। मुख्य सल्लाहकारमा कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकारमा असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकारमा सुदीप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र तथा स्वास्थ्य सल्लाहकारमा प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन्।
मुख्य सल्लाहकार ब्यञ्जनकार र स्वास्थ्य सल्लाहकार अग्रवाल अवैतनिक रूपमा कार्यरत छन्। राजनीतिक सल्लाहकार शाहले मन्त्रीसरह तथा ढकाल र मिश्रले राज्यमन्त्रीसरहको सेवा–सुविधा पाउने व्यवस्था गरिएको छ।
सचिवालयमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मा छन्। उनले सचिवसरह अर्थात् राजपत्राङ्कित विशिष्ट श्रेणीको सुविधा पाउनेछन्।
त्यस्तै, स्वकीय सचिव नवीन भण्डारी, विकास परियोजनातर्फ स्वकीय सहसचिव सञ्जीव पाण्डे, प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र सामाजिक विकास विज्ञ विश्व राईलाई सहसचिवसरहको सुविधा तोकिएको छ।
प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य उपसचिवसरहको जिम्मेवारीमा छन्। नागरिक उड्डयनतर्फ सहायक विज्ञ सुमन गौतम तथा भाषा तथा मस्यौदातर्फ सहायक विज्ञ रविकिरण अधिकारीले पनि उपसचिवसरहको सुविधा पाउने विवरणमा उल्लेख छ।
प्रधानमन्त्रीको सचिवालयमा प्रेस, ग्राफिक्स, भिडियोग्राफी, अनुसन्धान तथा प्रशासनका लागि छुट्टाछुट्टै जनशक्ति राखिएको छ। प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईँ, ग्राफिक्स डिजाइनतर्फ रोशन तामाङ तथा अनुसन्धान अधिकृतमा बेदानन्द जोशी र हेम नारायणदास चौधरी छन्। उनीहरू शाखा अधिकृतसरहको तहमा कार्यरत छन्।
प्रशासन सहायकतर्फ अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम र बेनिस कार्की तथा कम्प्युटर सहायकमा अमृत पाण्डे छन्। उनीहरू नायब सुब्बासरहको तहमा रहेको विवरणमा उल्लेख छ।
यसरी प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकार, विज्ञ, स्वकीय, प्रेस, अनुसन्धान, प्रशासन तथा प्राविधिक जिम्मेवारीमा रहेका २५ जनाको नाम सार्वजनिक भएको छ।
तर, यसअघि प्रधानमन्त्री कार्यालयले स्वकीय सचिवालयतर्फ ४८ जनाको दरबन्दीमध्ये २७ जना नियुक्त रहेको विवरण सार्वजनिक गरेको थियो। असोज १३ गते सार्वजनिक गरिएको विवरणमा पनि भदौ १५ गतेको सूचनाका आधारमा २७ जना नियुक्त रहेको उल्लेख थियो।
शुक्रबार सार्वजनिक गरिएको नयाँ विवरणमा भने सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयसमेत गरी २५ जनाको नाम समेटिएको छ। यसअघि उल्लेख भएको २७ जनाको तुलनामा नयाँ विवरणमा संख्या घट्नुको कारण भने कार्यालयले खुलाएको छैन।
प्रधानमन्त्री शाहले २७ मार्च २०२६ मा प्रधानमन्त्रीको पदभार सम्हालेका थिए।