‘प्रधानमन्त्री शाहको सम्बोधनले जलवायु संकट र न्यायको सवाललाई सशक्त रूपमा उठायो’ : परराष्ट्र मन्त्री खनाल - Chaitanya News
  • 2026-10-02
  • 14:29:49
  • शुक्रबार,आश्विन १६, २०८३
  • ‘प्रधानमन्त्री शाहको सम्बोधनले जलवायु संकट र न्यायको सवाललाई सशक्त रूपमा उठायो’ : परराष्ट्र मन्त्री खनाल

    ‘प्रधानमन्त्री शाहको सम्बोधनले जलवायु संकट र न्यायको सवाललाई सशक्त रूपमा उठायो’ : परराष्ट्र मन्त्री खनाल

    काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सम्बोधनका क्रममा भोटेकोशी बाढीलाई जलवायु परिवर्तनका गम्भीर प्रभावसँग जोड्दै नेपालका लागि जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता विश्व समुदायसमक्ष राखेको बताएका छन्।

    शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको संयुक्त राज्य अमेरिका भ्रमण तथा संयुक्त राष्ट्र संघको महासभामा भएको सहभागिताबारे जानकारी गराउँदै मन्त्री खनालले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको गम्भीर असर भोगिरहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको बताए।

    उनका अनुसार प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम बढ्दा हिमपहिरो, बाढी तथा पहिरोजस्ता विपद्को जोखिम बढिरहेको तथ्य प्रस्तुत गरेका थिए। यस्ता जोखिम न्यूनीकरणका लागि प्रभावकारी पूर्वसूचना प्रणाली र सीमापार समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिएका थिए।

    प्रधानमन्त्रीले भोटेकोशी बाढीलाई जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्र सहज बनाउन तथा जलवायु संकटको सामना गर्न साझा जिम्मेवारी निर्वाह गर्न आह्वान गरेको मन्त्री खनालले बताए।

    मन्त्री खनालका अनुसार असोज ६ देखि १० गतेसम्म न्युयोर्कमा भएको महासभाका विभिन्न उच्चस्तरीय सत्र तथा द्विपक्षीय बैठकमा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो।

    महासभाका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्प्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा नेपालप्रति ऐक्यबद्धता जनाएको मन्त्री खनालले जानकारी दिए। भेटमा अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्ने विषयमा समेत छलफल भएको उनले बताए।

    यस्तै, प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गरेको मन्त्री खनालले जानकारी दिए।

    अमेरिका भ्रमणका क्रममा आफूले समेत विभिन्न ८० वटा कार्यक्रम तथा द्विपक्षीय बैठकमा सहभागिता जनाएको उल्लेख गर्दै मन्त्री खनालले भोटेकोशी विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट थप सहयोगको अपेक्षा गरिएको बताए।

    मन्त्री खनालले प्रधानमन्त्री शाहको महासभा सम्बोधनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको संकट र जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा उठाएको बताए।