‘संस्थालाई कमाइ खाने भाँडो नबनाऔँ’ - Chaitanya News
  • 2026-10-02
  • 12:30:02
  • शुक्रबार,आश्विन १६, २०८३
  • ‘संस्थालाई कमाइ खाने भाँडो नबनाऔँ’

    ‘संस्थालाई कमाइ खाने भाँडो नबनाऔँ’

    काठमाडौँ– नेपाली काँग्रेसका सांसद सन्दीप रानाले नेपाल वायुसेवा निगमको पछिल्लो निराशाजनक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी संस्थानहरू ‘नियुक्ति खाने’ थलोका रूपमा परिणत भएको आरोप लगाएका छन् ।

    शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निगमको रुग्ण अवस्था र सञ्चालन मोडालिटीबारे सरकारको स्पष्ट दृष्टिकोण नरहेको भन्दै आलोचना गरेका हुन् । सांसद रानाले निगमको व्यावसायिक कार्यक्षमतामाथि प्रश्न उठाउँदै नाफा कमाउन नसक्ने संस्थालाई राष्ट्रिय गौरवका रूपमा मात्रै जोगाइराख्नु चुनौतीपूर्ण रहेको बताए ।

    उनले नेपालका सरकारी संस्थानहरूमा व्याप्त ‘नियुक्ति र भागबण्डा’ को संस्कारप्रति कटाक्ष गर्दै कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वको मानसिकतामा नै खोट रहेको जिकिर गरे । रानाकाअनुसार धेरैजसो सरकारी संस्थानहरूमा काम गर्ने उद्देश्यले भन्दा पनि पद र सुविधा प्राप्त गर्ने ९नियुक्ति खाने० प्रवृत्ति हाबी छ । जसका कारण सक्षम व्यक्तिहरूले काम गर्ने वातावरण पाउन सकेका छैनन् ।

    उनले भने, ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त निराशाजनक छ । अब यसलाई राष्ट्रिय ध्वजावाहकका रूपमा राख्ने कि व्यावसायिक तथा पीपीपी मोडलमा लैजाने भन्ने विषयमा स्पष्ट नीति आवश्यक छ । निगमलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने हो भने नाफामुखी र प्रतिष्पर्धी संस्था बनाउने प्रतिबद्धता हुनुपर्छ । सरकारी संस्थालाई राजनीतिक नियुक्ति र व्यक्तिगत स्वार्थको माध्यम बनाउने प्रवृत्तिले समस्या बढाएको छ । त्यसैले सक्षम र दक्ष व्यक्तिलाई सरकारी सेवाका परम्परागत मापदण्डभन्दा आवश्यकताअनुसार फरक व्यवस्था गरेर पनि नेतृत्व गर्ने वातावरण बनाउनुपर्छ । पीपीपी मोडलमा जाने भए सीमित निजी समूहको स्वार्थमा संस्था नजाओस् भन्नेतर्फ पनि स्पष्ट र पारदर्शी व्यवस्था आवश्यक छ ।’

    सांसद रानाले पीपीपी मोडालिटीमा लैजाने सरकारी योजनाबारे पनि सचेत गराए । उनले नेपालमा सीमित उद्योगीहरूको हालिमुहाली रहेको तर्फ संकेत गर्दै पीपीपी मोडालिटी कार्यान्वयन गर्दा पारदर्शिता र प्रतिस्पर्धालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । साथै उनले नियुक्तिको परम्परागत सरकारी मापदण्ड भन्दा बाहिर गएर दक्ष र व्यावसायिक व्यक्तिलाई अवसर दिने वातावरण सिर्जना नगरेसम्म यस्ता संस्थानहरूको कायापलट हुन नसक्ने दाबी गरे ।