चैतन्य पाठशालामा ज्येष्ठ नागरिक सम्मानित - Chaitanya News
  • 2026-10-01
  • 15:55:36
  • बिहिबार,आश्विन १५, २०८३
  • चैतन्य पाठशालामा ज्येष्ठ नागरिक सम्मानित

    चैतन्य पाठशालामा ज्येष्ठ नागरिक सम्मानित

    धनगढी-अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चैतन्य पाठशालाले बिहीबार ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।
    सम्मान कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले ज्येष्ठ नागरिक परिवार, समाज र राष्ट्रका मार्गदर्शक रहेको बताए। ज्येष्ठ नागरिक अनुभव, वैदिक चेतना र संस्कारका धरोहर तथा समाजको चेतनाको ऐना भएको उनले उल्लेख गरे।

    वैश्विक समाजको निर्माण र त्यसको गतिशीलता आत्मसात गर्न वैदिक दर्शन महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष जोशीले ज्येष्ठ नागरिकका अनुभव र कुराहरू सबैले सुन्नुपर्नेमा जोड दिए। परिवारका संस्कार, सभ्यता र मूल्य–मान्यतालाई संरक्षण गर्न ज्येष्ठ नागरिकप्रतिको श्रद्धा र सम्मानलाई आत्मसात गर्नुपर्ने उनको भनाइ थियो।

    पाठ्यक्रम र पाठ्यपुस्तकबाट औपचारिक शिक्षा प्राप्त हुने भए पनि संस्कार र सभ्यताको वास्तविक विश्वविद्यालय परिवारमा रहेका ज्येष्ठ नागरिक भएको अध्यक्ष जोशीले बताए। बालबालिकाले सबैभन्दा बढी कुरा हजुरबुवा–हजुरआमाबाट सिक्न सक्ने भन्दै घरमा बाजे–बज्यै हुनु नै भाग्यको कुरा भएको उनले बताए।

    ज्येष्ठ नागरिक परिवार र समाजका धरोहर भएकाले उनीहरूबाट जीवन्त सिकाइको अनुभव प्राप्त गर्न सकिने उल्लेख गर्दै अध्यक्ष जोशीले इतिहास, सभ्यता, परम्परा र जीवन भोगाइका अनेकौँ कुरा बाजे–बज्यैबाट सिक्न सकिने बताए।

    परिवारका अग्रज सदस्यलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले परिवारमा रहेका ज्येष्ठ नागरिकको सम्मान गर्न नसक्ने परिवारको उन्नति र प्रगति हुन नसक्ने बताए।

    सम्मानित ज्येष्ठ नागरिकका तर्फबाट बोल्दै गोरख थापाले चैतन्य पाठशालाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर गरेको सम्मानबाट आफूहरू खुसी भएको बताए। विद्यालयले गरेको सम्मानले ज्येष्ठ नागरिकको आत्मसम्मान बढाएको उनको भनाइ थियो।

    ज्येष्ठ नागरिकबाट बालबालिकाले जीवनोपयोगी मार्गदर्शन प्राप्त गर्न सक्ने बताउँदै थापाले परिवारमा रहेका बाजे–बज्यैसँग कुराकानी गर्दा बालबालिकाले जीवनमा काम लाग्ने महत्वपूर्ण कुरा सिक्न सक्ने बताए। बुढापाकासँग निरन्तर संवाद गर्दै जीवन र जगत्का विविध पक्षबारे सिक्नुपर्नेमा उनले जोड दिए।

    चैतन्य पाठशालाले आयोजना गर्ने यस्ता कार्यक्रमबाट बालबालिकाले पाठ्यपुस्तकभन्दा बाहिरका जीवनोपयोगी ज्ञान, संस्कार र अनुभव सिक्ने अवसर प्राप्त गरिरहेको थापाले बताए।

    जेष्ठ नागरिक सम्मान कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमनिधि ओझा, शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्राचार्य ओझालाई समेत सम्मान गरिएको थियो।