भारी वर्षाको जोखिममा सरकारको ‘हाई अलर्ट’ तयारी, घण्टा–घण्टामा पूर्वसूचना - Chaitanya News
  • 2026-09-23
  • 17:41:37
  • बुधबार,आश्विन ०७, २०८३
  • भारी वर्षाको जोखिममा सरकारको ‘हाई अलर्ट’ तयारी, घण्टा–घण्टामा पूर्वसूचना

    भारी वर्षाको जोखिममा सरकारको ‘हाई अलर्ट’ तयारी, घण्टा–घण्टामा पूर्वसूचना

    काठमाडौं– आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना देखिएपछि सरकारले विपद् प्रतिकार्यको तयारी तीव्र बनाएको छ। सम्भावित बाढी, पहिरो र हिमपातको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ भने जोखिमयुक्त क्षेत्रमा तत्काल उद्धार तथा प्रतिकार्यका लागि संयन्त्र तयारी अवस्थामा राखिएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८, ९ र १० गते भारी वर्षाको सम्भावना रहेकाले नदीको जलसतह, वर्षाको अवस्था र सम्भावित विपद्को जोखिमलाई ‘रियल टाइम’मा निगरानी गरिनेछ।

    प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी जोखिमको अवस्था हेरेर सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना अद्यावधिक गरिने बताए।

    उनका अनुसार कुनै नदी खतराको तहमा पुग्न सक्ने समय र त्यसबाट पर्न सक्ने प्रभावको प्राविधिक विश्लेषण गरी नागरिकलाई समयमै जानकारी गराउने तयारी छ। मोबाइलमार्फत एसएमएस अलर्टसमेत पठाइने भएकाले त्यस्ता सूचनालाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ।

    सम्भावित मौसमी जोखिमलाई मध्यनजर गर्दै देशभरका सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको निरन्तर निगरानी र सम्भावित प्रतिकार्यको तयारी भइरहेको प्राधिकरणले जनाएको छ।

    पहिरोका कारण राजमार्ग तथा सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै मुख्य राजमार्गहरूमा सडक तत्काल खुलाउन डोजरलगायतका उपकरण ‘स्ट्यान्डबाई’ राखिएको छ। जोखिम बढेमा केही सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिने तयारीसमेत गरिएको छ।

    प्राधिकरणले शुक्रबार र शनिबार अतिआवश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्ने तयारी गरेको छ। यातायात व्यवसायीलाई पनि मौसमको अवस्था हेरेर सेवा सञ्चालनमा सतर्कता अपनाउन भनिएको छ।

    भारी वर्षासँगै हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई समेत ध्यानमा राख्दै ‘रेड अलर्ट’ जारी गरिएको छ। मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ।

    जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानतर्फ फर्किन आग्रह गरिएको छ। ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न तथा आवश्यक परे हेलिकप्टर उडानका लागि पूर्वतयारी अवस्थामा रहनसमेत एडभाइजरी जारी गरिएको छ।

    समुद्रमा बन्न सक्ने ठूलो आँधी प्रणाली र त्यसको सम्भावित दिशालाई समेत प्राधिकरणले निगरानी गरिरहेको छ। मौसम प्रणाली छोटो समयमा परिवर्तन हुन सक्ने भएकाले जोखिमको अवस्था हेरेर पूर्वसूचना तथा प्रतिकार्य योजना थप परिमार्जन गरिने जनाइएको छ।

    भारी वर्षाले कृषि क्षेत्रमा समेत क्षति पुर्‍याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली तथा भण्डारण गरिएको अनाज जोगाउन किसानलाई आग्रह गरिएको छ। कृषि मन्त्रालयमार्फत यससम्बन्धी छुट्टै एडभाइजरी जारी भइसकेको छ।

    प्राधिकरणले बाढी तथा पहिरोका बेला सामाजिक सञ्जालका लागि भिडियो बनाउने, टिकटक खिच्ने वा बाढीले बगाएर ल्याएका दाउरा तथा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने जस्ता गतिविधि नगर्न सर्वसाधारणलाई चेतावनी दिएको छ।

    सम्भावित विपद्को जोखिम बढ्दै गएमा स्थानीय तह, सुरक्षा निकाय र प्रशासनबीच समन्वय गरी तत्काल उद्धार तथा राहत परिचालन गर्ने गरी तयारी अघि बढाइएको प्राधिकरणले जनाएको छ।