दुर्गम क्षेत्रको कनेक्टिभिटी बढाउँदै टेलिकम, भदौमा ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट - Chaitanya News
  • 2026-09-22
  • 15:42:12
  • मंगलबार,आश्विन ०६, २०८३
  • दुर्गम क्षेत्रको कनेक्टिभिटी बढाउँदै टेलिकम, भदौमा ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट

    दुर्गम क्षेत्रको कनेक्टिभिटी बढाउँदै टेलिकम, भदौमा ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट

    काठमाडौँ– नेपाल टेलिकमले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई तीव्रता दिएको छ। कम्पनीले भदौ महिनामा मात्रै ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको जनाएको छ।

    सेवा पहुँच कमजोर रहेका तथा नयाँ पूर्वाधार आवश्यक भएका स्थान पहिचान गरी मोबाइल साइट थप गरिएको टेलिकमले जनाएको छ। नयाँ साइट सञ्चालनमा आएसँगै सम्बन्धित क्षेत्रमा मोबाइल फोन तथा मोबाइल ब्रोडब्यान्ड सेवाको पहुँच विस्तार हुनुका साथै विद्यमान सेवाको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

    टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार नयाँ मोबाइल साइटमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवासँग जोड्ने प्रयास भइरहेको छ। सेवा विस्तार आवश्यक भएका क्षेत्रमा क्रमशः नयाँ पूर्वाधार थप गर्दै जाने कम्पनीको योजना छ।

    बागमती प्रदेशमा ललितपुर महानगरपालिका–३ को कार्यालय क्षेत्र र च्याउन्डाँडामा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। चितवनको मोहनपुरमा पनि नयाँ साइट थपिएको छ।

    त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा मोबाइल साइट सञ्चालनमा आएका छन्। लुम्बिनी प्रदेशमा कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट जडान गरिएको टेलिकमले जनाएको छ।

    कर्णाली प्रदेशमा जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा नयाँ मोबाइल साइट थपिएका छन्। सुदूरपश्चिम प्रदेशतर्फ बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ साइट सञ्चालनमा ल्याइएको छ।

    यी पूर्वाधार थपिएसँगै सम्बन्धित क्षेत्रका नागरिकले मोबाइल तथा डेटा सेवामा सहज पहुँच पाउने टेलिकमको अपेक्षा छ। विशेषगरी सेवा विस्तारको आवश्यकता रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच बढाउन यसले सहयोग पुग्ने कम्पनीको भनाइ छ।

    सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउँदै देशभर फोरजी सेवाको पहुँच विस्तार गर्ने, दूरसञ्चार सेवाका प्रयोगकर्ता बढाउने तथा मोबाइल ब्रोडब्यान्डको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

    सरकारको डिजिटल प्रविधिमा आधारित सेवा विस्तारको नीतिअनुसार सेवा नपुगेका र कमजोर पहुँच भएका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको छ। सोहीअनुसार टेलिकमले आवश्यकता पहिचान गरी नयाँ मोबाइल साइट सञ्चालन गर्दै आएको जनाएको छ।

    टेलिकमका अनुसार आगामी दिनमा पनि दूरसञ्चार सेवाको पहुँच कमजोर रहेका तथा नयाँ सेवा आवश्यक भएका स्थानमा मोबाइल साइट थप गर्दै जाने योजना छ। यसबाट दुर्गम क्षेत्रका नागरिकको सञ्चार तथा डेटा सेवामा पहुँच विस्तार हुनुका साथै विद्यमान सेवाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।