हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य बढाउने जापान, अमेरिका र दक्षिण कोरियाको प्रतिबद्धता - Chaitanya News
  • 2026-09-22
  • 10:22:28
  • मंगलबार,आश्विन ०६, २०८३
  • हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य बढाउने जापान, अमेरिका र दक्षिण कोरियाको प्रतिबद्धता

    हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य बढाउने जापान, अमेरिका र दक्षिण कोरियाको प्रतिबद्धता

    काठमाडौं– जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

    जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले सोमबार न्युयोर्कमा भेटवार्ता गर्दै आ–आफ्ना प्रतिबद्धता दोहोर्‍याएका हुन्।

    संयुक्त राष्ट्रसंघको महासभा बैठक चलिरहेका बेला उनीहरूबीच भेटवार्ता भएको थियो। सो भेटमा उनीहरुले तीन देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति पनि गरेका जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ।

    बैठकपछि सार्वजनिक संयुक्त धारणा अनुसार, तीन देशले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न त्रिपक्षीय सहकार्यलाई महत्वपूर्ण आधारका रूपमा लिँदै ठोस ढंगले सहकार्य जारी राख्ने बताएका छन्।

    उनीहरूले अन्तर्राष्ट्रिय विपद् उद्धार तथा राहत प्रयासमा सहयोग बढाउने र दक्षिण–पूर्वी एसियामा सीमापार हुने आपराधिक गतिविधिविरुद्धका उपायलाई थप सुदृढ गर्ने विषयमा पनि सहमति जनाएका छन्।

    त्यसैगरी, इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) सहित अन्य क्षेत्रमा आगामी पुस्ताको आणविक रिएक्टर अर्थात् स्मल मोड्युलर रिएक्टर (एसएमआर) तैनाथ गर्ने योजनालाई तीव्रता दिन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

    उत्तर कोरियाको विषयमा तीन विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावअनुरूप उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणका लागि सहकार्य जारी राख्ने बताएका छन्। साथै, उत्तर कोरियाले अपहरण गरेका व्यक्तिहरूसँग सम्बन्धित समस्याको तत्काल समाधान आवश्यक रहेकोमा पनि उनीहरूले जोड दिएका छन्।

    उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि आम्दानी जुटाउने साइबर गतिविधिलाई नियन्त्रण गर्न पनि तीन देशले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

    बैठकमा चीनलाई ध्यानमा राख्दै क्षेत्रीय सुरक्षा अवस्थाबारे समेत छलफल भएको थियो। बल वा दबाबका माध्यमबाट यथास्थिति एकपक्षीय रूपमा परिवर्तन गर्ने प्रयासप्रति तीन देशले चासो व्यक्त गर्दै ताइवान जलडमरूमध्यमा शान्ति र स्थायित्व कायम राख्नुको महत्वमा जोड दिएका छन्।

    यसैबीच, जापानी विदेशमन्त्री मोतेगी र अमेरिकी विदेशमन्त्री रुबियोबीच छुट्टै भेटवार्ता पनि भएको थियो। उनीहरूले चीनसँग सम्बन्धित विषयमा विचार आदानप्रदान गर्दै जापान–अमेरिका गठबन्धनलाई थप सुदृढ बनाउन नजिकबाट सहकार्य गर्ने सहमति गरेका छन्।