काठमाडौँ– संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले महासभामा आफ्नो सहभागिता र सम्बोधनका सन्दर्भमा काँग्रेस नेताहरूसँग आवश्यक परामर्श गरेका हुन्।
छलफलमा नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित नेता विश्वप्रकाश शर्मा सहभागी थिए। प्रधानमन्त्रीको निमन्त्रणामा काँग्रेस नेताहरू सिंहदरबार पुगेका थिए।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। त्यसअघि उनले प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भेट गरी आवश्यक विषयमा छलफल गरेका हुन्।
महासभामा नेपालको सहभागिता र त्यहाँ उठाइने विषयका सन्दर्भमा प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग परामर्श गरेका रूपमा यो भेटलाई लिइएको छ।