भोटेकोशी बाढीपछि रास्वपाले के–के गर्‍यो निर्णय ? - Chaitanya News
  • 2026-09-21
  • 18:34:55
  • सोमबार,आश्विन ०५, २०८३
  • भोटेकोशी बाढीपछि रास्वपाले के–के गर्‍यो निर्णय ?

    भोटेकोशी बाढीपछि रास्वपाले के–के गर्‍यो निर्णय ?

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतसँगै बेपत्ताको अवस्था यकिन गर्न तथा विस्थापितको पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

    आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धारको कामलाई तीव्रता दिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकले राहत वितरणमा कुनै किसिमको कमजोरी हुन नदिन र पीडितले राज्यको सहयोग प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी काम गर्न सरकारलाई आग्रह गरेको छ।

    बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले सरकारमा सहभागी मन्त्री तथा पदाधिकारीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतको काम भइरहेको तथा अब पुनर्स्थापना र पुनर्निर्माणको चरणमा प्रवेश गर्न लागेको जानकारी बैठकमा प्राप्त भएको बताए।

    बेपत्ताको अवस्था छिटो टुंग्याउन माग:

    रास्वपाले अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको भन्दै उनीहरूको अवस्थाबारे यथाशीघ्र यकिन गर्नुपर्नेमा जोड दिएको छ।

    बेपत्ताको शव भेटिए पनि पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षणलाई तीव्रता दिनुपर्ने पार्टीको माग छ। मृत्यु भएको वा नभएकोबारे लामो समयसम्म अन्योल कायम रहँदा परिवार थप पीडामा पर्ने भएकाले राज्यले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बैठकको निष्कर्ष छ।

    पार्टीले कानुनी प्रावधानका कारण मृत्यु प्रमाणित गर्न समस्या भए आवश्यक कानुनी व्यवस्था संशोधन गरेर भए पनि पीडित परिवारलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउनुपर्ने धारणा अघि सारेको छ।

    परिवारको सहमतिमा राहत, पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी प्रक्रिया अघि बढाउन सरकारको सहजीकरण आवश्यक रहेको रास्वपाले जनाएको छ।

    राहतपछि पुनर्स्थापनामा ध्यान दिन आग्रह:

    बाढी प्रभावित क्षेत्रमा तत्कालको खोजी, उद्धार र राहतसँगै अब पुनर्स्थापना र पुनर्निर्माणको कामलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने रास्वपाको जोड छ।

    पार्टीले प्रभावित क्षेत्रमा राज्यका तर्फबाट हुने कुनै पनि काममा कमीकमजोरी हुन नदिन सरकारलाई सचेत गराएको छ। पीडित परिवारले राहत पाएको महसुस गर्ने गरी सहयोग र सेवा प्रवाहलाई प्रभावकारी बनाउनसमेत बैठकले आग्रह गरेको छ।

    मधेस अधिवेशनको आन्तरिक विवादमा अडिट रिपोर्ट:

    सचिवालय बैठकमा पार्टीको मधेस प्रदेश अधिवेशनका क्रममा देखिएका आन्तरिक समस्याबारे पनि छलफल भएको छ।

    सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यस विषयमा अडिट रिपोर्ट पेस गरेको छ। समितिले विस्तृत प्रतिवेदन भने अर्को साता बुझाउने प्रवक्ता खरेलले जानकारी दिए।

    अनुशासन आयोग र विभागमा नयाँ सदस्य:

    बैठकले पार्टीको अनुशासन आयोग तथा केही विभागमा नयाँ सदस्य मनोनयनसमेत गरेको छ।

    त्यस्तै, पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भएका गतिविधि तथा त्यसबाट प्राप्त उपलब्धिबारे बैठकमा समीक्षा गरिएको छ।

    स्थगित गतिविधि पुनः सञ्चालन गर्ने निर्णय:

    भोटेकोशी बाढीको विपद्पछि स्थगित गरिएका पार्टीका औपचारिक तथा नियमित गतिविधिलाई पुनः सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

    पार्टी सभापति रवि लामिछानेले सरकारमा सहभागी मन्त्री, निर्वाचित सांसद तथा पार्टी नेताहरूको आचरणमा सुधार गर्दै पार्टी र सरकारबीचको सम्बन्धलाई थप बलियो बनाएर अघि बढ्न निर्देशन दिएका छन्।

    यससँगै रास्वपाले विपद्पछिको तत्कालीन उद्धार तथा राहतसँगै अब बेपत्ताको अवस्था टुंग्याउने, पीडित परिवारलाई कानुनी तथा प्रशासनिक सहजीकरण गर्ने र पुनर्स्थापना तथा पुनर्निर्माणको काम प्रभावकारी बनाउन सरकारको भूमिकामाथि जोड दिएको छ।