असोज ८ देखि भारी वर्षाको जोखिम, मौसम विभागको तयारी के छ ? - Chaitanya News
  • 2026-09-20
  • 12:51:14
  • आइतबार,आश्विन ०४, २०८३
  • असोज ८ देखि भारी वर्षाको जोखिम, मौसम विभागको तयारी के छ ?

    असोज ८ देखि भारी वर्षाको जोखिम, मौसम विभागको तयारी के छ ?

    काठमाडौँ– बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान सार्वजनिक भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले भने अहिले नै भारी वर्षाको निश्चित निष्कर्ष निकाल्न हतार गर्न नहुने जनाएको छ ।

    विभिन्न मौसम पूर्वानुमान मोडेलको विश्लेषण गर्दै केही मौसमविद्ले उक्त अवधिमा देशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिएका छन् । कतिपय मोडेलले ४०० मिलिमिटरभन्दा बढी तथा केही अवस्थामा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने संकेत देखाएको उनीहरूको भनाइ छ । तर यस्तो वर्षा देशभर समान रूपमा हुने नभई निश्चित क्षेत्रमा केन्द्रित हुन सक्ने उनीहरूले बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म देशभर वर्षाको सम्भावना देखिएको बताएका छन् । उनले विभिन्न पूर्वानुमान मोडेलको अध्ययनका आधारमा सम्भावित जोखिमबारे पूर्वसूचना दिइएको उल्लेख गरेका छन् ।

    उनका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिने क्रममा त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको गति र दिशामा प्रभाव पार्न सक्छ । त्यसको सम्भावित असर नेपालमा समेत पर्न सक्ने भएकाले केही क्षेत्रमा ठूलो वर्षाको जोखिम रहन सक्ने उनको भनाइ छ ।

    अर्का मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर देखिएको बताएका छन् । उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलले असोज १० गते आसपास बढी जोखिम देखाएको उनको भनाइ छ ।

    तर उपाध्यायले अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने बताएका छन् । मौसमी प्रणालीको दिशा, शक्ति र विकासक्रममा परिवर्तन आउन सक्ने भएकाले आगामी दिनको पूर्वानुमानलाई समेत हेर्नुपर्ने उनको भनाइ छ ।

    उनले सम्भावित जोखिमलाई लिएर सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगित गर्नु उपयुक्त हुन सक्ने उनको सुझाव छ ।

    विभागको निगरानीमा मौसमी प्रणाली:

    जल तथा मौसम विज्ञान विभागले भने बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

    विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता मौसमी प्रणाली कहिलेकाहीँ डिप्रेसनको अवस्थामै कमजोर भएर हराउन सक्छन् भने दिशा परिवर्तनसमेत हुन सक्छ । त्यसैले हाल सामाजिक सञ्जालमा फैलिएको वर्षाको परिमाण र जोखिमसम्बन्धी विवरणलाई नै अन्तिम पूर्वानुमानका रूपमा लिन नहुने उनको भनाइ छ ।

    उनका अनुसार प्रणालीको विकास, गति, दिशा र शक्तिबारे आगामी केही दिनमा थप स्पष्ट भएपछि विभागले आवश्यक जानकारी औपचारिक रूपमा सार्वजनिक गर्नेछ ।

    यसकारण असोज ८ देखि १२ गतेसम्म ठूलो वर्षा हुने चर्चा बढे पनि अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ वा क्षतिको जोखिम कति हुन्छ भन्ने यकिन भइसकेको छैन । मौसमी प्रणालीको आगामी विकासक्रमले नेपालमा पर्ने प्रभाव निर्धारण गर्ने विभागको भनाइ छ ।

    कृषि क्षेत्रमा पनि जोखिम:

    यदि केही मौसमविद्ले अनुमान गरेअनुसार भारी वर्षा भयो भने कृषि क्षेत्रमा समेत असर पर्न सक्ने बताइएको छ । विशेषगरी पाक्न लागेको तथा पाकिसकेको धानबालीमा वर्षाले क्षति पुर्‍याउन सक्ने भएकाले किसानलाई पनि मौसमको अवस्थाबारे नियमित जानकारी लिन आग्रह गरिएको छ ।

    यसैबीच, भारतीय मौसम विभागका अनुसार उत्तर थाइल्यान्ड र म्यानमार आसपास विकसित प्रणालीको प्रभावले आगामी ४८ घण्टाभित्र उत्तर अण्डमान सागरमा न्यूनचापीय क्षेत्र बन्न सक्ने सम्भावना छ । त्यसपछि प्रणाली बंगालको खाडीको मध्य भागतर्फ अघि बढ्न सक्ने र सेप्टेम्बर २२ सम्म डिप्रेसन वा डिप डिप्रेसनमा विकसित हुन सक्ने अनुमान गरिएको छ ।

    उक्त प्रणाली चक्रवातमा परिणत भएमा सन् २०२६ मा उत्तर हिन्द महासागर क्षेत्रमा बन्ने पहिलो उष्णकटिबन्धीय चक्रवात हुन सक्नेछ । चक्रवात बनेमा विश्व मौसम संगठनको नाम सूचीअनुसार यसको नाम ‘अर्नब’ रहनेछ, जुन नाम बंगलादेशले प्रस्ताव गरेको हो ।