सहसचिव सरुवा: पौडेल मन्त्रालयमा तानिए, पन्थीलाई कर्मचारी प्रशासनको जिम्मेवारी - Chaitanya News
  • 2026-09-20
  • 10:58:25
  • आइतबार,आश्विन ०४, २०८३
  • सहसचिव सरुवा: पौडेल मन्त्रालयमा तानिए, पन्थीलाई कर्मचारी प्रशासनको जिम्मेवारी

    सहसचिव सरुवा: पौडेल मन्त्रालयमा तानिए, पन्थीलाई कर्मचारी प्रशासनको जिम्मेवारी

    काठमाडौँ– गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गर्दै प्रशासनिक संरचनामा परिवर्तन गरेको छ। गृहमन्त्री सुधन गुरुङस्तरीय निर्णयबाट सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलसहित दुई सहसचिवको सरुवा तथा जिम्मेवारी परिवर्तन गरिएको हो।

    मन्त्रालय प्रशासन विशेष स्रोतका अनुसार प्रजिअ पौडेललाई सिराहाबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ। मन्त्रालयमा तानिएपछि उनलाई तत्कालका लागि अतिरिक्त समूहमा राखिएको छ।

    यसैगरी, गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको नेतृत्व सम्हाल्दै आएका सहसचिव सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ।

    पन्थीले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। कर्मचारी प्रशासन महाशाखाले मन्त्रालय र मातहतका विभिन्न निकायमा कर्मचारी व्यवस्थापनसँग सम्बन्धित महत्त्वपूर्ण काम हेर्दै आएको छ।

    दुई सहसचिवको जिम्मेवारी हेरफेरसँगै गृह मन्त्रालयको कर्मचारी प्रशासनतर्फको नेतृत्वमा समेत परिवर्तन भएको छ। पौडेललाई मन्त्रालयमा तानिएपछि सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय भने सार्वजनिक भइसकेको छैन।