‘प्रचण्डले भने:‘मुर्रा भैँसी ल्याउने निर्णय किसानको जीवन परिवर्तनसँग जोडिएको थियो’ - Chaitanya News
  • 2026-09-18
  • 16:48:30
  • शुक्रबार,आश्विन ०२, २०८३
  • ‘प्रचण्डले भने:‘मुर्रा भैँसी ल्याउने निर्णय किसानको जीवन परिवर्तनसँग जोडिएको थियो’

    ‘प्रचण्डले भने:‘मुर्रा भैँसी ल्याउने निर्णय किसानको जीवन परिवर्तनसँग जोडिएको थियो’

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा जातका भैँसी ल्याउने निर्णय सामान्य विषय नभई किसानको जीवनस्तर सुधारसँग जोडिएको बताएका छन्।

    आज (शुक्रबार) नेकपानिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएका बेला भारत भ्रमणका क्रममा मुर्रा भैँसी ल्याउने समझदारी भएपछि राजनीतिक विरोधीहरूले त्यसलाई उपहासको विषय बनाएको बताए।

    प्रचण्डले मुर्रा भैँसी ल्याउने प्रक्रिया लामो समयदेखि अघि बढ्न नसकेको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले त्यसलाई परिणाममा पुर्‍याएको दाबी गरे।

    “पछिल्लो भारत भ्रमणमा त विरोधीहरूले ‘मुर्रा भैँसी लिएर आयो प्रचण्डले’ भनेर बडो खिल्ली उडाउने दुस्साहस गरे,” उनले भने, “मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन। दशौँ वर्षदेखि अरूले नसकेको कुरा थियो त्यो। त्यो मुर्रा भैँसी ल्याउने कुरा किसानको जीवनमा परिवर्तन ल्याउने कुरासँग नै सम्बन्धित थियो।”

    पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो सरकारले कृषि क्षेत्रको लगानी वृद्धि र किसानलाई उत्प्रेरित गर्ने विषयलाई बजेटमार्फत प्राथमिकता दिएको दाबी गरे।

    “हामीले विगतमा धेरै गर्न नसकेको भए पनि पछिल्लो सरकारमा हुँदाको बजेट हेर्नुभयो भने कृषि क्षेत्रमा कसरी लगानी बढाउने र किसानहरूलाई कसरी उत्प्रेरित गर्ने भन्नेमा थियो,” उनले भने।

    किसान महासंघका नेता तथा कार्यकर्तालाई कृषि क्षेत्रका नीति, कार्यक्रम र बजेटबारे पर्याप्त ध्यान दिन आग्रह गर्दै प्रचण्डले उनीहरू अन्य काममा बढी व्यस्त देखिएको टिप्पणीसमेत गरे।