काठमाडौँ– काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। सडक अवरोधका कारण वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा थपिएको खर्च हटेसँगै शुक्रबारदेखि ग्यास प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमै बिक्री गर्न नेपाल एलपी ग्यास उद्योग संघले उद्योगहरूलाई आग्रह गरेको छ।
यसअघि वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै उद्योगहरूले उपभोक्ताबाट सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिँदै आएका थिए। संघले सरकारले तोकेको दुई हजार ६० रुपैयाँमा ढुवानी खर्चबापत थप १०५ रुपैयाँ ३८ पैसा जोडेर प्रतिसिलिन्डर अधिकतम दुई हजार १६५ रुपैयाँ ३८ पैसासम्ममा बिक्री गर्न आग्रह गरेको थियो।
सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग प्रयोग गरेर उपत्यकामा ग्यास ल्याउँदै आएका थिए। त्यस क्रममा ढुवानी दूरी र खर्च बढेको थियो।
तर, अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौँ आउन थालेका छन्। नियमित मार्गबाटै ग्यास आपूर्ति हुन थालेपछि थप ढुवानी खर्च हटेको संघले जनाएको छ।
यससँगै संघले २०८३ असोज २ गते शुक्रबारदेखि काठमाडौँ उपत्यकामा प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँभन्दा बढीमा एलपी ग्यास बिक्री नगर्न उद्योगहरूलाई आग्रह गरेको छ। संघले आफ्ना विक्रेतालाई समेत नयाँ मूल्यबारे तत्काल जानकारी गराउन निर्देशन दिएको छ।
सडक अवरोधका कारण बढेको अतिरिक्त ढुवानी खर्च हटेपछि उपभोक्ताले अब सरकारले तोकेको मूल्यमा नै एलपी ग्यास खरिद गर्न पाउने भएका छन्।
