काठमाडौँ– संयुक्त राष्ट्रसंघको महासभामा नेपालले राष्ट्रिय हित र अन्तर्राष्ट्रिय सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र साह ‘बालेन’को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका जाने भएको छ ।
परराष्ट्र मन्त्री शिशिर खनालले बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीको नेतृत्वमा आफू लगायतको टोली महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने जानकारी दिए ।
उनका अनुसार संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि सुरु हुँदैछ । महासभामा नेपालको सहभागिताका क्रममा राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक विश्व परिस्थितिसँग जोडिएका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ ।
‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दै छ,’ मन्त्री खनालले भने ।
समितिको बैठकमा महासभामा नेपालको सहभागितासँगै जलवायु परिवर्तनका विषयमा पनि विज्ञहरूसँग छलफल भएको थियो । विज्ञहरूले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तका विषयमा धारणा राखेका थिए ।
महासभालाई नेपालले जलवायु परिवर्तनका कारण सिर्जित समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा लिनुपर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । साथै, महासभामा नेपालको कूटनीतिक प्राथमिकता र अन्तर्राष्ट्रिय सम्बन्धका विषयलाई कसरी प्रस्तुत गर्ने भन्नेबारे समेत छलफल भएको छ ।