उपत्यकाका हजार पसलमा ११० रुपैयाँ किलोमै चिनी पाइन्छ, अभाव छैन : सरकार - Chaitanya News
  • 2026-09-16
  • 17:36:36
  • बुधबार,भाद्र ३१, २०८३
  • उपत्यकाका हजार पसलमा ११० रुपैयाँ किलोमै चिनी पाइन्छ, अभाव छैन : सरकार

    उपत्यकाका हजार पसलमा ११० रुपैयाँ किलोमै चिनी पाइन्छ, अभाव छैन : सरकार

    काठमाडौं– चाडपर्वको मुखमा बजारमा चिनी अभाव भएको र महँगोमा किन बाध्य पारिएको भनेर उपभोक्ताले गुनासो गरिरहेका बेला सरकारले सहज र पर्याप्त आपूर्ति भइरहेको दाबी गरेको छ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा प्रतिकिलो १ सय १० रुपैयाँमा चिनी बिक्री–वितरण भइरहेको दाबी गरेको हो।

    १० भदौमा भोटेकोशी नदीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको र भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको कारण देखाउँदै बजारमा चिनी अभाव गराइएको र महँगोमा बेचिरहेको समाचार सार्वजनिक भएका थिए।

    तर, विभागले बजारमा चिनीको कुनै अभाव नरहेको दाबी गरेको छ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा ३० भदौमा सरोकारवालाहरूसँग बसेको बैठकपछि सरकारले चिनीको सहज आपूर्ति व्यवस्था मिलाएको विभागले जनाएको छ ।्

    विभाग प्रवक्ता अनिल किराँतीले अब उपभोक्ताले भाटभटेनी, बिग मार्ट, सेल्सबेरी सहित काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो १ सय १० रुपैयाँमै सर्वसुलभ रूपमा चिनी खरिद गर्न सक्ने बताए।

    साथै, बजारमा चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै आम उपभोक्तालाई अनावश्यक रूपमा चिनीको अधिक सञ्चय (होर्डिङ) नगर्न समेत विभागले विशेष अनुरोध गरेको छ।