अबको विद्यालय शिक्षा कस्तो हुनु पर्छ ? - Chaitanya News
  • 2026-09-16
  • 08:22:36
  • बुधबार,भाद्र ३१, २०८३
  • अबको विद्यालय शिक्षा कस्तो हुनु पर्छ ?

    अबको विद्यालय शिक्षा कस्तो हुनु पर्छ ?

    अबको विद्यालय शिक्षा कस्तो हुनु पर्छ?

    शिक्षा सुधारको अवसर : अब पाठ्यक्रम मात्र होइन, शिक्षाको दर्शन बदलौँ ।

    • गणेश जोशी

    नेपालको विद्यालय शिक्षा अहिले महत्वपूर्ण पुनर्विचारको चरणमा छ। शिक्षा क्षेत्रमा देखिएका पुराना चुनौती, बदलिँदो विश्व परिवेश, कृत्रिम बुद्धिमत्ता (AI) को तीव्र विस्तार, रोजगारीको बदलिँदो स्वरूप, युवाको विदेश पलायन, सामाजिक मूल्यमा आएको परिवर्तन र विश्वव्यापी प्रतिस्पर्धाले अब विद्यालय शिक्षाको उद्देश्य, पाठ्यक्रम, शिक्षण पद्धति र मूल्याङ्कन प्रणालीलाई नयाँ दृष्टिले हेर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

    यस सन्दर्भमा शिक्षा मन्त्री माननीय सस्मित पोखरेल स्वयं सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै पाठ्यक्रममा आवश्यक परिवर्तनका लागि सुझाव संकलनमा देशव्यापी रूपमा सक्रिय हुनु सकारात्मक र अनुकरणीय पहल हो। नीति निर्माणको प्रक्रियामा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद्, विद्यालय, स्थानीय सरकार, विश्वविद्यालय, अनुसन्धानकर्ता, निजी क्षेत्र तथा नागरिक समाजको आवाज समेटिनु लोकतान्त्रिक र सहभागितामूलक शिक्षा सुधारको महत्वपूर्ण आधार हो।

    नेपालको विद्यालय शिक्षा क्षेत्र योजना २०२२–२०३२ ले पनि विद्यालय शिक्षाको गुणस्तर, सिकाइ उपलब्धि, समावेशिता, शिक्षक विकास, ICT, पाठ्यक्रम तथा मूल्याङ्कन सुधारलगायतका विषयलाई प्राथमिकतामा राखेको छ।

    तर आजको सरोकार केवल  “पाठ्यक्रममा कुन विषय थप्ने?” भन्ने मात्रै होइन अवको मूल प्रश्न “भावि शिक्षाले कस्तो नागरिक निर्माण गर्ने?” भन्ने हुनु पर्दछ।

    हामीलाई केवल परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थी चाहिएको छैन। हामीलाई सोच्न सक्ने, सिर्जना गर्न सक्ने, अनुसन्धान गर्न सक्ने, प्रविधि प्रयोग गर्न सक्ने, उद्यम गर्न सक्ने, सहृदय हुन सक्ने, देशप्रति जिम्मेवार र विश्वप्रति उत्तरदायी नागरिक चाहिएको छ।

    त्यसैले आगामी पाठ्यक्रम सुधारलाई विषय थपघटको सामान्य प्रक्रियाभन्दा माथि उठाएर राष्ट्रिय मानव पूँजी निर्माणको दीर्घकालीन परियोजना का रूपमा अघि बढाउन आवश्यक छ।

    अन्तर्राष्ट्रिय अनुभव : नेपालले के सिक्न सक्छ?

    विश्वका सफल शिक्षा प्रणालीहरू एकअर्काको हुबहु नक्कल गरेर सफल भएका होइनन्। उनीहरूले आफ्नो इतिहास, संस्कृति, अर्थतन्त्र र सामाजिक आवश्यकताअनुसार शिक्षा प्रणाली विकास गरेका छन्।

    नेपालले पनि आफ्नै मौलिकता जोगाउँदै विश्वका सफल अभ्यासबाट सिक्नुपर्छ।

    फिनल्यान्ड : विषयभन्दा परको क्षमता

    फिनल्यान्डको राष्ट्रिय पाठ्यक्रमले प्रत्येक विषयभित्रै transversal competencies विकास गर्ने व्यवस्था गरेको छ। सोच्ने र सिक्ने, सांस्कृतिक क्षमता, अन्तरक्रिया, दैनिक जीवन व्यवस्थापन, multiliteracy, ICT competence, working-life competence, entrepreneurship तथा दिगो भविष्य निर्माणजस्ता क्षमताको निर्माण गर्ने अवसरहरू पाठ्यक्रम र शैक्षिक अभ्यासमा जोडिएका छन्। साथै विद्यालयले कम्तीमा वर्षमा एउटा multidisciplinary learning module सञ्चालन गर्ने व्यवस्था पनि गरेको छ।

    नेपालका लागि यसको सन्देश स्पष्ट छ:

    गणित अलग, विज्ञान अलग र सामाजिक शिक्षा अलग भएर वा विषयगत विविधताले मात्र पुग्दैन; विद्यार्थीले यी ज्ञानलाई वास्तविक जीवनका आयामहरूसँग जोड्न सिक्ने अवसर पाउनु पर्दछ।

    जापान : ज्ञानसँग चरित्र र जिम्मेवारी

    जापानको शिक्षा प्रणालीले moral education, human relationships, public morality, self-respect, respect for life, tradition and culture तथा सामाजिक जिम्मेवारीलाई महत्व दिएको छ। जापानी पाठ्यक्रमले विद्यार्थीमा ज्ञानसँगै सोच्ने, निर्णय गर्ने र व्यवहारमा उतार्ने क्षमताको विकासलाई जोड दिन्छ।

    जापानको अभ्यासबाट नेपालले सिक्न सक्ने मूल कुरा भनेको

    विद्यालयले केवल विद्यार्थीको विषयगत सक्षमाता मात्रै होइन, चरित्र पनि निर्माण गर्नुपर्छ भन्ने नै हो।

    सिंगापुर : Character, Citizenship Future Skills

    सिंगापुरले Character and Citizenship Education लाई 21st Century Competencies सँग जोडेको छ। यसको ढाँचामा core values, social-emotional competencies, civic literacy, global awareness तथा cross-cultural skills समेटिएका छन्। विद्यार्थीलाई confident person, self-directed learner, active contributor र concerned citizen बनाउने लक्ष्य राखिएको छ।

    अर्थात् सिंगापुरले पनि एउटा महत्वपूर्ण कुरा स्वीकार गरेको छ। त्यो हो:  विश्वस्तरीय क्षमता र राष्ट्रिय चरित्र एकअर्काका विरोधी होइनन्; दुवै सँगसँगै विकास गर्न सकिन्छ।

    यीनै दृष्टान्तहरू पनि नेपालको आगामी शिक्षा सुधारको आधार बन्न सक्छन।

    नेपालको विद्यालय शिक्षा सुधारका लागि १० बुँदे राष्ट्रिय प्रस्ताव:

    १. शिक्षा र संस्कारको संगम : Competency with Consciousness

    अबको शिक्षा प्रणालीको पहिलो आधार शिक्षा र संस्कारको संगम हुनुपर्छ।ज्ञान हुन्छ तर संस्कार हुँदैन भने ज्ञान अहंकार बन्न सक्छ।क्षमता हुन्छ तर चेतना हुँदैन भने क्षमता दुरुपयोग हुन सक्छ। प्रविधि हुन्छ तर मानवता हुँदैन भने प्रविधि समाजका लागि चुनौती बन्न सक्छ। त्यसैले आगामी पाठ्यक्रमले:  ज्ञान + सीप + संस्कार + चेतना + जिम्मेवारी लाई एउटै शैक्षिक ढाँचामा जोड्नुपर्छ।

    बालबालिकाले सत्यनिष्ठा, अनुशासन, आत्मसम्मान, अरूको सम्मान, सहकार्य, सहिष्णुता, सकारात्मक सोच, कर्तव्यबोध, आत्मचेतना, भावनात्मक बुद्धिमत्ता र सामाजिक जिम्मेवारी व्यवहारबाट सिक्नुपर्छ। संस्कारलाई केवल एउटा “नैतिक शिक्षा” विषयमा सीमित गर्नु पर्याप्त हुँदैन। गणितमा इमानदारी, विज्ञानमा सत्यको खोजी, सामाजिक शिक्षामा नागरिक जिम्मेवारी, खेलमा अनुशासन र सहकार्य, साहित्यमा संवेदना तथा विद्यालयको दैनिक व्यवहारमा सम्मान र जिम्मेवारी देखिनुपर्छ।

    प्रस्तावित मूल सूत्र: Competency with Consciousness : सक्षमतासँग चेतना।

    २. वेद, दर्शन र आधुनिक विज्ञानको संवाद

    नेपालको विशिष्ट पहिचान यसको प्राकृतिक सम्पदासँग मात्र होइन, यसको प्राचीन ज्ञान, दर्शन, भाषा, साहित्य, योग, आयुर्वेद, प्रकृतिसँगको सम्बन्ध र सांस्कृतिक परम्परासँग पनि जोडिएको छ।तर हाम्रो प्राचीन ज्ञानलाई भावनात्मक पक्षको रूपमा मात्र प्रस्तुत गर्नु हुँदैन। अध्ययन, अनुसन्धान, प्रमाण र आलोचनात्मक चिन्तनका आधारमा यसको प्रयोग गर्नुपर्छ।

    • विद्यार्थीले जान्न जरूरी छ कि हाम्रो प्राचीन ज्ञानमा के थियो?

    त्यसको ऐतिहासिक प्रमाण के हो? त्यसको सामाजिक सन्दर्भ के थियो? आधुनिक विज्ञानले त्यसलाई कसरी परीक्षण गर्छ?आजको समाजका लागि त्यसबाट के सिक्न सकिन्छ? यसरी वेद र विज्ञान विचको संयोजनवाट सिकाईको नविन आयाम निर्माण गर्न सकिन्छ।

    योग तथा ध्यानलाई मानसिक स्वास्थ्य र wellbeing सँग, आयुर्वेदलाई स्वास्थ्य विज्ञानसँग, प्रकृतिमैत्री जीवनशैलीलाई environment science सँग, प्राचीन गणितीय परम्परालाई mathematics को इतिहाससँग र दर्शनलाई ethics तथा critical thinking सँग जोड्न सकिन्छ।

    यसको मूल दर्शनले  “Rooted in Wisdom, Rising with Science.” को सिद्धान्त निर्माण गर्दछ।

    ३. सूचना होइन, सिर्जना र समाधानमा आधारित मूल्याङ्कन

    हाम्रो परम्परागत परीक्षा प्रणालीले धेरै हदसम्म विद्यार्थीले कति कुरा सम्झियो भन्ने मापन गर्छ। तर वर्तमान युगमा सूचना मात्र सिकाईको पर्याप्त आधार होईन । AI ले केही सेकेन्डमै हजारौँ शब्दको उत्तर तयार गर्न सक्छ। त्यसैले अब विद्यार्थीको क्षमता मापन गर्न परिपाटि बदल्नुपर्छ।

    उसले के सम्झियो? भन्दा उसले के बुझ्यो?

    के लेख्यो? भन्दा पनि के सिर्जना गर्‍यो?

    उत्तर के हो? भन्दा समस्या समाधान कसरी गर्‍यो?

    यसको उत्कृष्ट नमूनाको रूपमा फिनल्यान्डले transversal competence लाई विषयगत अध्ययन तथा formative र summative assessment दुवैसँग जोडेको छ।

    नेपालले पनि क्रमशः

    • Project work
    • Research
    • Presentation
    • Portfolio
    • Practical demonstration
    • Community service
    • Teamwork
    • Creative production
    • Problem-solving

    लाई मूल्याङ्कनको अभिन्न हिस्सा बनाउनुपर्छ।

    प्रस्तावित मूल्याङ्कन सूत्र:

    Knowledge → Understanding → Application → Analysis → Creation → Character

    यसले परीक्षामा उच्च अंक ल्याउने मात्र होइन, जीवनमा सफल हुन सक्ने विद्यार्थी निर्माण गर्छ।

     ४. अनुसन्धान, अन्वेषण र नवप्रवर्तन : विद्यार्थीलाई प्रश्न गर्न सिकाऔँ

    विद्यालयमा विद्यार्थीले उत्तर मात्र खोज्ने होइन, प्रश्न निर्माण गर्न पनि सिक्नुपर्छ।

    • किन?”
    • कसरी?”
    • यदि यस्तो भयो भने?”
    • यसको अर्को समाधान के हुन सक्छ?”
    • यस्ता प्रश्नबाट अनुसन्धानको संस्कार सुरु हुन्छ।

    हरेक विद्यालयमा आफ्नो क्षमताअनुसार:

    • Student Research Lab
    • Innovation Lab
    • Entrepreneurship Lab
    • Community Problem-Solving Lab

    जस्ता अभ्यास विकास गर्न सकिन्छ।

    स्थानीय पानी, कृषि, फोहोर, स्वास्थ्य, पर्यटन, संस्कृति, भाषा, ऊर्जा, स्थानीय उद्योग वा सामाजिक समस्यालाई विद्यार्थी अनुसन्धानका विषय बनाउन सकिन्छ।

    यसबाट विद्यार्थी पढ्ने → बुझ्ने → प्रश्न गर्ने → अनुसन्धान गर्ने → समाधान निकाल्ने → सिर्जना गर्ने क्रममा अघि बढ्छ।

    विश्व समाजलाई  अब उत्तर कण्ठ गर्ने विद्यार्थीभन्दा नयाँ प्रश्न र नयाँ समाधान सिर्जना गर्ने विद्यार्थी आवश्यक छ।

    ५. उद्यमशीलता, वित्तीय साक्षरता र स्वावलम्बन

    विद्यालयबाट निस्कने हरेक विद्यार्थीले सरकारी वा निजी जागिर नै खोज्नुपर्छ भन्ने मानसिकता बदल्नुपर्छ।

    उद्यमशीलता केवल व्यवसाय व्यवस्थापनको विषय होइन; यो समस्या देखेर अवसर पहिचान गर्ने क्षमता हो।

    विद्यालय तहदेखि नै विद्यार्थीलाई:

    • व्यक्तिगत वित्त व्यवस्थापन
    • बचत
    • लगानीको आधारभूत ज्ञान
    • व्यवसाय योजना
    • डिजिटल उद्यम
    • स्थानीय उत्पादन
    • कृषि उद्यम
    • पर्यटन
    • creative industries
    • सामाजिक उद्यम
    • startup culture सँग परिचित गराउनुपर्छ।

    सानो उमेरमै “म आफैं केही गर्न सक्छु” भन्ने आत्मविश्वास विकास गराउनुपर्छ।

    शिक्षा यस्तो होस् जसले :  “म जागिर खोज्छु” बाट

    “म काम सिर्जना गर्छु” सम्मको यात्रा तय गरोस्।

    स्वावलम्बन आर्थिक स्वतन्त्रता मात्र होइन, मानसिक विकासको उच्चतम आयाम पनि हो।

    ६. राष्ट्रिय चरित्र निर्माण : विश्व नागरिक, नेपालप्रति जिम्मेवार

    नेपालको वर्तमान सामाजिक–आर्थिक चुनौतीमध्ये युवाको विदेशमुखी मनोविज्ञान पनि एउटा महत्वपूर्ण विषय हो।

    विदेश जानु अपराध होइन।विश्व वजारमा अध्ययन गर्नु, अनुभव लिनु, रोजगारी गर्नु र अन्तर्राष्ट्रिय अवसर प्राप्त गर्नु सकारात्मक कुरा हुन सक्छ।तर समस्या त्यतिबेला हुन्छ जब बाल्यकालदेखि नै “नेपालमा भविष्य छैन” भन्ने मानसिकता निर्माण हुन्छ।पाठ्यक्रमले विद्यार्थीलाई नेपालका सम्भावनासँग परिचित गराउनुपर्छ। हाम्रो:

    • जलस्रोत
    • पर्यटन
    • कृषि
    • वन
    • जडीबुटी
    • संस्कृति
    • IT
    • entrepreneurship
    • creative economy
    • renewable energy

    जस्ता सम्भावनालाई शिक्षासँग जोड्नुपर्छ। विद्यार्थीलाई विदेश जान रोक्ने होइन। उनिहरूलाई यस्तो प्रेरणा दिनुपर्छ: “जहाँ जाऊँ, विश्वबाट सिक; तर आफूले सिकेको ज्ञान र सीपबाट आफ्नो देश र समाजलाई पनि योगदान गर।” यही नै Global Citizenship with National Responsibility हो।

    ७. सामाजिक, कानुनी र संवैधानिक शिक्षा

    हामीले विद्यालयमा गणित पढाउँछौँ, विज्ञान पढाउँछौँ, भाषा पढाउँछौँ। तर धेरै विद्यार्थीले आफ्नो संविधान, मौलिक हक, नागरिक कर्तव्य, स्थानीय सरकार, कानुनी अधिकार तथा दैनिक जीवनका आधारभूत कानुनी विषयबारे पर्याप्त व्यावहारिक ज्ञान नपाउन सक्छन्। त्यसैले पाठ्यक्रममा उमेरअनुसार संविधान साक्षरता मौलिक हक, कर्तव्य, लोकतन्त्र, संघीयता र नागरिक सहभागिता जरूरि छ।

    कानुनी साक्षरता अन्तर्गतः

    बाल अधिकार, cyber law, online safety, violence, discrimination, consumer rights तथा दैनिक जीवनसँग सम्बन्धित आधारभूत कानून।

    सामाजिक साक्षरता अन्तर्गतः

    विविधता, समावेशिता, लैङ्गिक सम्मान, सहअस्तित्व, सामाजिक न्याय।

    नागरिक चेतनाको विकास:

    स्थानीय सरकारको भ्रमण, सार्वजनिक संस्थासँग संवाद, community projects र civic participation।

    यसले विद्यार्थीलाई अधिकार माग्ने नागरिक मात्र होइन, जिम्मेवारी पूरा गर्ने नागरिक बनाउँछ।

    ८. डिजिटल, AI Media Literacy : प्रविधिको मालिक बन्ने शिक्षा

    अब AI लाई पाठ्यक्रममा समेट्ने कि नसमेट्ने भन्ने प्रश्न पुरानो भइसकेको छ। मूल विषय हो:  AI को युगमा विद्यार्थीलाई मानवको रूपमा अझ सक्षम कसरी बनाउने? जापानले GIGA School Initiative मार्फत डिजिटल प्रविधिलाई शिक्षण–सिकाइसँग जोड्दै व्यक्तिगत तथा सहकार्यात्मक सिकाइलाई बल दिएको छ। नेपालले पनि AI तथा digital literacy लाई केवल computer subject मा सीमित गर्नु हुँदैन।

    विद्यार्थीले यी कुराहरू सिक्न जरूरि छः

    • AI कसरी काम गर्छ?
    • AI को जिम्मेवार प्रयोग कसरी गर्ने?
    • गलत सूचना कसरी पहिचान गर्ने?
    • स्रोतको विश्वसनीयता कसरी जाँच्ने?
    • plagiarism के हो?
    • data privacy के हो?
    • algorithmic bias के हो?
    • AI प्रयोग गर्दा मानव विवेक किन आवश्यक छ?

    भविष्यको विद्यार्थी: Digital Native मात्र होइन—Digital Citizen हुनु पर्छ।

    ९. स्वास्थ्य, मानसिक wellbeing, योग, खेल र जीवनकौशल

    शिक्षाको अन्तिम लक्ष्य केवल बौद्धिक क्षमता होइन।स्वस्थ शरीर, स्वस्थ मन, सकारात्मक सम्बन्ध र सन्तुलित जीवन पनि आवश्यक छ। विद्यालयमा:

    • Physical fitness
    • Sports
    • Yoga
    • Meditation
    • Emotional literacy
    • Stress management
    • Nutrition
    • Personal hygiene
    • First aid
    • Road safety
    • Disaster preparedness
    • Relationship skills
    • Digital wellbeing

    जस्ता जीवनोपयोगी पक्षलाई व्यवस्थित रूपमा समेटिनुपर्छ।यसलाई “अतिरिक्त कार्यक्रम” नभई समग्र शिक्षाको अभिन्न भाग बनाउनुपर्छ।विद्यार्थीले जीवनका समस्यासँग सामना गर्न सक्ने आत्मविश्वास पनि विद्यालयबाटै पाउनुपर्छ।

    १०. प्रकृति, जलवायु, दिगो विकास र विश्वकल्याण

    नेपाल हिमाल, पहाड, तराई, नदी, वन, जैविक विविधता र प्राकृतिक स्रोतले समृद्ध देश हो।तर जलवायु परिवर्तन, पानीको संकट, वन विनाश, प्रदूषण, फोहोर व्यवस्थापन तथा प्राकृतिक विपद्का चुनौती पनि बढिरहेका छन्।त्यसैले विद्यार्थीले प्रकृतिलाई केवल पाठ्यपुस्तकमा पढ्ने होइन प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राखेर सिक्ने। हरेक विद्यालयले आफ्नो अनुकुलता अनुसार:

    • School garden
    • Tree plantation
    • Waste segregation
    • Water conservation
    • Renewable energy demonstration
    • Biodiversity documentation
    • Climate projects जस्ता अभ्यास गर्न सक्छ।

    विद्यार्थीलाई बुझाउन जरूरि छः  प्रकृति उपभोग गर्ने वस्तु मात्र होइन; संरक्षण गर्नुपर्ने साझा सम्पदा हो।

    माथि प्रस्तुत १० प्रस्ताव कार्यान्वयन गर्न ५ संरचनात्मक परिवर्तन पाठ्यक्रममा विषय थपेर मात्र शिक्षा रूपान्तरण हुँदैन।

    १. शिक्षकको नयाँ भूमिका

    शिक्षक “पाठ पढाउने व्यक्ति” बाट: Mentor + Facilitator + Research Guide + Role Model बन्नुपर्छ। शिक्षकको निरन्तर professional development अनिवार्य र व्यवहारमुखी हुनुपर्छ।

    २. परीक्षा प्रणालीको पुनर्संरचना

    पाठ्यक्रममा creativity राखेर परीक्षामा केवल rote learning परीक्षण गरियो भने सुधार असफल हुन्छ। त्यसैले assessment reform लाई curriculum reform सँगै लैजानुपर्छ।

    ३. स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन

    नेपालको हिमाली, पहाडी, तराई, ग्रामीण र सहरी परिवेश एउटै छैन। त्यसैले राष्ट्रिय स्तरमा common competencies र standards कायम गर्दै स्थानीय विषयवस्तु तथा समुदायमा आधारित learning लाई पर्याप्त स्थान दिनुपर्छ।

    फिनल्यान्डमा राष्ट्रिय core curriculum ले समान आधार दिन्छ तर स्थानीय निकाय र विद्यालयले आफ्ना आवश्यकता र सन्दर्भअनुसार curriculum development गर्ने अवसर पाउँछन्। नेपालले पनि यसबाट महत्वपूर्ण पाठ सिक्न सक्छ।

    ४. अभिभावक–विद्यालय–समुदाय साझेदारी

    बालबालिकाको समग्र विकासको जिम्मेवारी विद्यालयले मात्र लिन सक्दैन। घर, विद्यालय, समुदाय र digital environment सबैले उसको व्यक्तित्व निर्माणमा प्रभाव पार्दछन।त्यसैले parent education, school-community projects तथा नियमित संवादलाई संस्थागत गर्नुपर्छ।

    ५. प्रमाणमा आधारित शिक्षा नीति

    कुन विषय राख्ने? कुन हटाउने? कति घण्टा पढाउने? कसरी मूल्याङ्कन गर्ने? यी प्रश्नको उत्तर केवल परम्परा, लोकप्रियता वा राजनीतिक एजेण्डाको आधारमा मात्रै होइन:

    Research + Data + Learning Outcomes + Labour Market + National Priorities + International Evidence का आधारमा तय गरिनुपर्छ।

    नेपालको आगामी पाठ्यक्रमको प्रस्तावित राष्ट्रिय दर्शन अबको विद्यालय शिक्षा निम्न पाँच तहमा निर्माण गर्न सकिन्छ:

    • पहिलो : KNOW ज्ञान
    • दोस्रो : THINK चिन्तन
    • तेस्रो : CREATE सिर्जना
    • चौथो : SERVE सेवा
    • पाँचौँ : TRANSFORM रूपान्तरण

    अर्थातः

    जान्ने विद्यार्थी सोच्ने विद्यार्थी सिर्जना गर्ने विद्यार्थी सेवा गर्ने नागरिक समाज रूपान्तरण गर्ने नेतृत्व।

    नेपालको शिक्षा सुधारको सम्भावित राष्ट्रिय सूत्र:

    फिनल्यान्डले हामीलाई competency र multidisciplinary learning को महत्व देखाउँछ।जापानले character, moral education, experiential learning र responsibility को महत्व देखाउँछ।सिंगापुरले character, citizenship, social-emotional competencies र future-ready skills लाई एकीकृत गरेको देखाउँछ।

    नेपालले यी अनुभवलाई आफ्नो सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशअनुसार रूपान्तरण गर्न सक्छ।त्यसैले नेपालको आफ्नै सूत्र यस्तो हुन सक्छ:

    ज्ञान + संस्कार + विज्ञान + सीप + अनुसन्धान + उद्यम + सेवा + राष्ट्रबोध + विश्वचेतना

    यही नै हुन सक्छ: २१औँ शताब्दीको नेपाली शिक्षा।

    अहंम प्रश्न  : हामी कस्तो पुस्ता निर्माण गर्दैछौँ?

    आज हामीले विद्यालयको पाठ्यक्रममा एउटा विषय थप्दा त्यसको प्रभाव केही वर्षमा देखिन्छ।तर आज हामीले विद्यार्थीमा एउटा राम्रो संस्कार विकास गर्‍यौँ भने त्यसको प्रभाव पूरै जीवनमा देखिन्छ।आज हामीले अनुसन्धान गर्ने बानी बसाल्यौँ भने भोलि वैज्ञानिक जन्मिन्छ।आज हामीले उद्यमशीलता सिकायौँ भने भोलि रोजगारदाता जन्मिन्छ।आज हामीले सेवा भावना विकास गर्‍यौँ भने भोलि जिम्मेवार नागरिक जन्मिन्छ। आज हामीले प्रकृतिको सम्मान सिकायौँ भने भोलिको वातावरण सुरक्षित हुन्छ।आज हामीले संविधान र नागरिक कर्तव्य सिकायौँ भने लोकतन्त्र बलियो हुन्छ।आज हामीले आफ्नो देशप्रति आत्मविश्वास जगायौँ भने विदेश पुगेको नेपाली पनि देशसँग जोडिएको विश्व नागरिक बन्न सक्छ।र आज हामीले AI को युगमा मानवीय विवेक सिकायौँ भने भोलिको प्रविधि मानवताको सेवामा प्रयोग हुनेछ। त्यसैले आगामी पाठ्यक्रम सुधार केवल शिक्षा मन्त्रालयको प्रशासनिक काम होइन। यो नेपालको भविष्य निर्माण गर्ने राष्ट्रिय अभियान हो।

    शिक्षा मन्त्रालयले अहिले गरिरहेको सरोकारवालासँगको संवादलाई यही व्यापक राष्ट्रिय दृष्टिकोणसँग जोड्न सकेमा आगामी पाठ्यक्रम केवल नयाँ पाठ्यपुस्तकको दस्तावेज बन्ने छैन।

    नयाँ पुस्ताको राष्ट्रिय दृष्टिकोण।

    नयाँ नेपालको मानव पूँजीको आधार।

    र विश्वसँग प्रतिस्पर्धा गर्ने तर आफ्ना मूल्य र पहिचानमा जरा गाडिएको नेपाली शिक्षाको नयाँ मोडल वन्ने छ।

    अबको  शिक्षामा संस्कार होस्, संस्कारमा चेतना होस्।ज्ञानमा विज्ञान होस्, विज्ञानमा विवेक होस्।सीपमा स्वावलम्बन होस्, सफलतामा सेवा होस्। विश्वदृष्टिमा मानवता होस्, र हरेक विद्यार्थीको हृदयमा नेपाल होस्।

    यही दिशामा अघि बढोस् नेपालको आगामी विद्यालय शिक्षा सुधार।

    सर्वेभवन्तु सुखिन: