काठमाडौँ– सरकारले पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेलगत्तै सेयर बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ । लामो समयदेखि उठ्दै आएका संरचनात्मक तथा नीतिगत सुधारका विषय कार्ययोजनामा समेटिएपछि लगानीकर्ताले यसलाई बजारको पुनरुत्थानका लागि महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।
सोमबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३ मा पुँजीगत लाभकरमा सहजीकरण, नोक्सानी समायोजन, इन्ट्रा–डे कारोबार, सर्ट सेलिङ, धितोपत्र सापटी, मार्जिन लेन्डिङ, गैरआवासीय नेपाली (एनआरएन) को प्रवेश, सेयर स्प्लिट तथा बाइब्याकलगायतका विषय समेटिएका छन् ।
कार्ययोजना सार्वजनिक भएको भोलिपल्ट मंगलबारको प्रि–ओपन सेसनमै नेप्से परिसूचक ८६.०५ अंकले बढेर २ हजार ८७१.०९ विन्दुमा पुगेको थियो । सोमबार भने नेप्से २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा बन्द भएको थियो ।
यो समाचार तयार पार्दासम्म पनि बजारको सकारात्मक गति कायमै रहेको छ । नेप्से परिसूचक ४६.१३ अंकले बढेर २ हजार ६३१.१८ विन्दुमा पुगेको छ । यसले सरकारले अघि सारेको सुधारको खाकाप्रति लगानीकर्ताको प्रारम्भिक प्रतिक्रिया सकारात्मक रहेको संकेत गरेको छ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले कार्ययोजनालाई पुँजीबजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासका लागि महत्वपूर्ण पहलका रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार प्राथमिक सेयरमा प्राइस डिस्कभरी प्रणाली, मार्जिन लेन्डिङ, सर्ट सेलिङ, कर्पोरेट बोन्ड मार्केटको विकास, एनआरएनलाई दोस्रो बजारमा लगानीको अवसर तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने व्यवस्था बजारका लागि सकारात्मक छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र धितोपत्र दलाल व्यवसायलाई आधुनिकीकरण गर्ने विषय पनि कार्ययोजनामा समेटिनु सकारात्मक भएको ढकालले बताए । यस्ता सुधार कार्यान्वयनमा आए बजार थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बन्ने उनको भनाइ छ ।
दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था पनि लगानीकर्ताले सकारात्मक मानेका छन् ।
ढकालले घोषणा गरिएका सुधारलाई समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कार्यान्वयन प्रभावकारी भए पुँजीबजारप्रतिको लगानीकर्ताको विश्वास बढ्नुका साथै बजारमा तरलता वृद्धि हुने र अर्थतन्त्रमा पुँजीबजारको भूमिका थप प्रभावकारी बन्ने उनको भनाइ छ ।
पुँजीबजार लगानीकर्ता अम्बिका प्रसाद पौडेलले पनि सरकारले अघि सारेको कार्ययोजनालाई स्वागत गरेका छन् । उनका अनुसार कार्ययोजनाले पुँजीबजारको दीर्घकालीन विकास र विस्तारका लागि आधार तयार गर्नेछ ।
‘अर्थ मन्त्रालयबाट जारी पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३ स्वागतयोग्य छ । कार्ययोजनाले पुँजीबजारको दीर्घकालीन विकास र विस्तारको कोशेढुंगा हुनेछ,’ पौडेलले भने ।
लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुलेलले भने कार्ययोजनाले वर्षौँदेखि अड्किएका नीतिगत तथा कानुनी विषयलाई सम्बोधन गर्ने भएकाले यसको प्रभाव बजारमा दीर्घकालीन रूपमा देखिने बताएका छन् ।
उनका अनुसार ३६५ दिनभन्दा बढी होल्ड गर्दा ३.७५ प्रतिशत र सोभन्दा कम अवधिमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था तथा नाफा–घाटाको वास्तविक हिसाब गरी खुद नाफामा मात्र कर लाग्ने व्यवस्थाले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्नेछ ।
संस्थागत लगानीकर्तालाई प्राथमिक तथा दोस्रो बजारमा थप अवसर दिइए सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीलगायतबाट ठूलो संस्थागत पुँजी बजारमा भित्रिने फुलेलको विश्वास छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा लगानी गर्दा कम्तीमा ४५ दिन होल्ड गर्नुपर्ने व्यवस्था, इन्ट्रा–डे कारोबार, सर्ट सेलिङ, धितोपत्र सापटी र ब्रोकरमार्फत मार्जिन लेन्डिङ सुरु हुने विषयले बजारमा कारोबार तथा तरलता बढाउने उनको भनाइ छ ।
उच्च मूल्य भएका कम्पनीको सेयर विभाजन (सेयर स्प्लिट) तथा कम्पनीले आफ्नै सेयर खरिद गर्न पाउने (बाइब्याक) व्यवस्था कार्यान्वयन भए पुँजी व्यवस्थापन सहज हुनुका साथै लगानीकर्ताको हित संरक्षणमा समेत सहयोग पुग्ने फुलेलले बताए ।
अर्थ मन्त्रालयले सुस्ताएको अर्थतन्त्र, मौसमी विपद् तथा बाढीपहिरोबाट भएको क्षति र पुँजीबजारमाथि परेको दबाबलाई सम्बोधन गर्ने उद्देश्यले कार्ययोजना अघि सारेको जनाएको छ ।
लगानीकर्ताले भने अहिलेको मुख्य चुनौती कार्ययोजना घोषणा गर्नु नभई त्यसलाई तोकिएको समयसीमाभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससीमार्फत सुधारका कार्यक्रम व्यवहारमा लागू भए मात्र अहिले देखिएको सकारात्मक मनोविज्ञान दीर्घकालीन बजार सुधारमा परिणत हुने उनीहरूको भनाइ छ ।