सुदूरपश्चिम– भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन्। प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको अभिलेखअनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका १४३ जना सम्पर्कविहीन छन् भने एक जनाको मृत्यु भएको छ।
गत भदौ १० को बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिए। पछि ७१ जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख जनक धामीले जानकारी दिए।
हालसम्म सम्पर्कमा आएकामध्ये ११ महिला र ६० पुरुष र सम्पर्कविहीन भएकामा १३ महिला र १३० पुरुष रहेका उनले जानकारी दिए। जिल्लागत विवरणअनुसार कैलालीका सबैभन्दा धेरै ६७ जना सम्पर्कविहीन छन् भने ५३ जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीन र सम्पर्कमा आएकामध्ये क्रमशः कञ्चनपुरका २६ र ११, डडेल्धुराका १७ र छ, डोटीका दुई र एक जना छन्। यस्तै, बाजुराका १६ जना, बैतडीका सात, दार्चुलाका चार, बझाङका दुई र अछामका दुई जना अझै सम्पर्कविहीन छन्। बैतडीका एक जनाको मृत्यु भएको र शव बुझी अन्त्येष्टि गरिसकिएको आपत्कालीन कार्य सञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपत्कालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरूले केन्द्रमार्फत आग्रह गरिरहेका छन्।