माग पूरा भए देउवा पक्ष महाधिवेशनमा सहभागी हुने, एकताका लागि गगनमाथि दबाब - Chaitanya News
  • 2026-09-13
  • 12:53:43
  • आइतबार,भाद्र २८, २०८३
  • माग पूरा भए देउवा पक्ष महाधिवेशनमा सहभागी हुने, एकताका लागि गगनमाथि दबाब

    माग पूरा भए देउवा पक्ष महाधिवेशनमा सहभागी हुने, एकताका लागि गगनमाथि दबाब

    काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशनलाई लिएर देखिएको विवाद समाधानका लागि देउवा पक्षीय नेताहरूले सभापति गगन थापासमक्ष पाँचबुँदे सर्त अघि सारेका छन् । ती माग कार्यान्वयन भए आफूहरू संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी हुने उनीहरूले स्पष्ट पारेका छन् ।

    देउवा समूहका नेता मीन विश्वकर्माका अनुसार पार्टी एकताको वातावरण बनाउन आफूहरूले अघि सारेका मागमा सहमति जुटे महाधिवेशनमा सहभागी हुन आफूहरू तयार छन् । यसका लागि सभापति थापाले सकारात्मक आश्वासन दिइसकेको र आइतबार बस्ने कार्यसम्पादन समिति बैठकबाट मागबारे निर्णय हुने अपेक्षा रहेको उनले बताए ।

    शुक्रबार निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा देउवा पक्षीय २५ नेताले पार्टीभित्रको विवाद अन्त्य गर्दै एकता महाधिवेशनको वातावरण बनाउन सार्वजनिक अपिल गरेका थिए । उनीहरूले सानेपा र सुन्धराबाट अघि बढाइएका छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका स्थगित गरी सबै पक्षलाई समेटेर एउटै महाधिवेशनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

    विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि कांग्रेसभित्र संस्थापन र देउवा पक्षबीच विवाद चर्किँदै आएको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई देउवा समूहले स्वीकार नगरेपछि पार्टीका सांगठनिक गतिविधि र महाधिवेशन प्रक्रियासमेत दुई धारमा अघि बढेका छन् ।

    निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि गगन थापा नेतृत्वको समितिले १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेको छ । अर्कोतर्फ देउवा पक्षले सर्वोच्च अदालतको संयुक्त इजलासको फैसलाविरुद्ध पुनरवलोकनको निवेदन दिएको छ, जुन अहिले विचाराधीन छ ।

    यही पृष्ठभूमिमा देउवा पक्षीय २५ नेताले एकताको पहल थालेका हुन् । उनीहरूले नेपाली कांग्रेसको नाममा हुने अधिवेशन र महाधिवेशन एउटै हुनुपर्ने तथा वडादेखि केन्द्रसम्मका सबै सांगठनिक प्रक्रिया एकीकृत रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

    विश्वकर्माका अनुसार उनीहरूले सभापति थापासमक्ष पाँचवटा मुख्य सर्त राखेका छन् । पहिलो, १५औँ महाधिवेशनका लागि गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यलाई नै महाधिवेशनमा सहभागी गराउने व्यवस्था हुनुपर्नेछ । यो विषयमा कार्यसम्पादन समिति बैठकले निर्णय गरिसकेको छ ।

    त्यस्तै, अध्यावधिक कार्यलाई अनिवार्य नगरी डिजिटल प्रणालीलाई निरन्तरता दिनुपर्ने उनीहरूको माग छ । यससम्बन्धी निर्णय पनि कार्यसम्पादन समिति बैठकबाट भइसकेको विश्वकर्माले बताए ।

    विशेष महाधिवेशनमा सहभागी नभएका वा निर्वाचित नभएका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यलाई पनि विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा समावेश गर्नुपर्ने उनीहरूको अर्को माग छ ।

    महाधिवेशनका लागि गठन हुने सबै समितिमा सबै पक्षको सम्मानजनक सहअस्तित्व सुनिश्चित गर्नुपर्ने र आवश्यक परे कार्यतालिकामा समेत केही हेरफेर गरेर एकताको वातावरण बनाउनुपर्ने उनीहरूको सर्त छ ।

    यी मागबारे शुक्रबारको अपिलअघि नै सभापति थापासहितका नेताहरूसँग छलफल भएको थियो । त्यस क्रममा पार्टीले निर्णय गर्न बाँकी विषय पदाधिकारी हुँदै कार्यसम्पादन समितिबाट टुंग्याउने प्रतिबद्धता थापाले जनाएको बताइएको छ ।

    शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति थापाले पाँचबुँदे माग सम्बोधन भए अपिल जारी गर्ने २५ नेता महाधिवेशनमा सहभागी हुने जानकारी गराएका थिए । त्यसपछि मागबारे निर्णय गर्न कार्यसम्पादन समिति बैठक बोलाउने सहमति भएको हो ।

    आइतबार दिउँसो २ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठकले आफूहरूले अघि सारेका माग सम्बोधन गर्ने निर्णय गरे आफूहरू महाधिवेशनमा सहभागी हुने विश्वकर्माले बताए ।

    ‘हामीले यसअघि राख्दै आएका माग पूरा गर्ने बचनबद्धता सभापतिज्यूले गर्नुभएको छ । त्यो बचनबद्धताअनुसार कार्यसम्पादन समितिले निर्णय गर्‍यो भने हामी महाधिवेशनमा सहभागी हुन्छौँ,’ विश्वकर्माले भने ।

    उनका अनुसार यी माग केवल देउवा पक्षका मात्र नभई निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले समेत उठाउँदै आएका विषय हुन् । माग सम्बोधन भए कांग्रेसमा एकता महाधिवेशनका लागि वातावरण बन्ने उनको दाबी छ ।

    ‘हामी कुनै पक्ष वा विपक्षमा होइनौँ, नेपाली कांग्रेसको एकता र चारतारे झन्डाको पक्षमा छौँ । हिजो पनि कांग्रेसमै थियौँ, आज पनि छौँ र भोलि पनि पार्टी एकताकै पक्षमा हुन्छौँ,’ विश्वकर्माले भने, ‘गगन थापाले हाम्रा माग सम्बोधन गरी निर्णय गर्नुभयो भने हामी महाधिवेशनमा सहभागी हुन तयार छौँ ।’

    कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि पार्टी एकताका लागि इतर समूहले उठाउँदै आएका माग सम्बोधन गर्न आफूहरू सकारात्मक रहेको बताए । विधि र विधानभित्र रहेर सबै पक्षका विचारलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।

    शुक्रबार एकताका लागि अपिल गर्ने २५ नेतामा निवर्तमान सहमहामन्त्री उपाध्यायसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीन विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महरलगायत छन् । अपिलमा रहेका सबै नेता १४औँ महाधिवेशनमा देउवा प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

    यससँगै कार्यसम्पादन समिति बैठकले गर्ने निर्णय कांग्रेसभित्रको दुई धारबीचको दूरी घटाउने वा विवादलाई थप लम्ब्याउने भन्ने दृष्टिले महत्वपूर्ण मानिएको छ ।