हरितालिका तीजको सुरुआत, आज दर खाएर व्रतको तयारी - Chaitanya News
  • 2026-09-13
  • 09:50:28
  • आइतबार,भाद्र २८, २०८३
  • हरितालिका तीजको सुरुआत, आज दर खाएर व्रतको तयारी

    हरितालिका तीजको सुरुआत, आज दर खाएर व्रतको तयारी

    काठमाडौँ– नेपाली हिन्दु नारीहरूको प्रमुख पर्व हरितालिका तीजको औपचारिक सुरुआत आज दर खाएसँगै भएको छ। भाद्र शुक्ल द्वितीयाका दिन माइती तथा दाजुभाइले छोरीचेली र दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परासँगै चारदिने तीज पर्व सुरु भएको हो।

    भोलिपल्ट भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्ने धार्मिक मान्यताअनुसार त्यसको पूर्वतयारीस्वरूप द्वितीयाको साँझ दर खाने चलन छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार दरमा विशेषगरी दूधबाट बनेका परिकार, गहुँको रोटी र घिउ खाने परम्परा छ। शास्त्रीय विधानअनुसार दर रातको दुई भाग बित्नुअघि नै खाइसक्नुपर्ने मान्यता छ।

    तीज धार्मिक आस्था र परम्परासँग मात्र जोडिएको पर्व नभई नेपाली महिलाहरूका लागि आफ्ना दुःख, पीडा र अनुभव गीत तथा नृत्यमार्फत अभिव्यक्त गर्ने सामाजिक अवसरका रूपमा समेत स्थापित छ। जन्मघरबाट कर्मघर पुगेपछि भोगेका सुख–दुःख माइतीमा आएर दिदीबहिनीबीच साटासाट गर्ने माध्यमका रूपमा तीजको विशेष महत्व रहँदै आएको छ।

    तर पछिल्ला वर्षमा तीज मनाउने शैलीमा आएको परिवर्तनले यसको मौलिकतामाथि प्रश्नसमेत उठाएको छ। महिना दिनअघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र तामसी खाद्यपदार्थ प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।

    समाजशास्त्री कीर्तिकुमार राईका अनुसार तीजका नाममा हुने अनावश्यक तडकभडकले मौलिक संस्कृतिलाई विकृत बनाउँदै लैजानुका साथै आर्थिक रूपमा कमजोर वर्गलाई समेत मानसिक दबाब सिर्जना गर्न सक्छ। त्यसैले पर्वको धार्मिक तथा सांस्कृतिक पक्षलाई प्राथमिकता दिँदै विकृति र देखासिकी नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।

    नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार तृतीयाका दिन नीराहार व्रत बस्ने भएकाले त्यसको अघिल्लो साँझ दर खाने शास्त्रीय विधान हो। धार्मिक तथा सांस्कृतिक विकृति रोक्नुपर्ने सरकारी निकायहरू नै महिनौँअघिदेखि तामझामसहितका कार्यक्रममा सहभागी हुनु उचित नहुने उनको धारणा छ।

    तृतीयामा हरितालिका व्रत

    दर खाएपछि भोलि भाद्र शुक्ल तृतीयाका दिन बर्तालु महिलाले हरितालिका व्रत बस्नेछन्। त्यसपछि चौथीका दिन गणेश पूजा गरिनेछ भने यस वर्ष भदौ ३० गते मङ्गलबार गणेश चौथी तथा मध्याह्नकालमा स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइनेछ।

    पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा पुर्‍याएका थिए। त्यहीँ उनले भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ।

    साथीहरूले पार्वतीलाई हरण गरेर लुकाएको घटनासँग जोडेर यस व्रतलाई ‘हरितालिका’ भनिएको धर्मशास्त्रीय मान्यता छ।

    तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बर्तालु महिलाको भीड लाग्ने गर्छ। तीजसँगै नेपाली समाजमा चाडपर्वको उल्लास बढ्ने र त्यसपछि बडादसैँ तथा तिहारजस्ता प्रमुख पर्वको क्रम सुरु हुने भएकाले पनि तीजलाई नेपाली सांस्कृतिक जीवनमा महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।