मागपत्र प्रमाणीकरणमा रोजगारदाताको झन्झट हटाउन नयाँ व्यवस्था - Chaitanya News
  • 2026-09-13
  • 09:39:22
  • आइतबार,भाद्र २८, २०८३
  • मागपत्र प्रमाणीकरणमा रोजगारदाताको झन्झट हटाउन नयाँ व्यवस्था

    मागपत्र प्रमाणीकरणमा रोजगारदाताको झन्झट हटाउन नयाँ व्यवस्था

    काठमाडौँ– वैदेशिक रोजगारीका लागि रोजगारदाता कम्पनीले नेपाली कूटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण गराउँदा भोग्दै आएको झन्झट हटाउन सरकारले प्रक्रिया थप व्यवस्थित गर्ने भएको छ।

    मागपत्र प्रमाणीकरणमा अनावश्यक ढिलाइ हुने तथा आवश्यक कागजातबारे पटक–पटक जानकारी दिँदा रोजगारदाता कम्पनीलाई समस्या परेको गुनासो आएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले सबै नेपाली कूटनीतिक नियोगलाई प्रक्रिया सहज र समयमै टुंग्याउन निर्देशन दिएको हो।

    मन्त्रालयका अनुसार भदौ २६ गते भएको मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत गन्तव्य मुलुकमा रहेका सबै नेपाली कूटनीतिक नियोगलाई पत्राचार गरिएको छ। पत्रमा प्रचलित कानुनले तोकेको समय सीमाभित्रै मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिइएको छ।

    त्यस्तै, रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि नियोगमा आवेदन दिएपछि थप कुनै कागजात आवश्यक देखिएमा त्यसको जानकारी पटक–पटक नभई एकैपटक (एकमुष्ट) दिनुपर्ने व्यवस्था गरिएको छ।

    मन्त्रालयले यो व्यवस्थाले मागपत्र प्रमाणीकरणका क्रममा रोजगारदाता कम्पनीले व्यहोर्नुपरेको अनावश्यक सास्ती कम हुने अपेक्षा गरेको छ। साथै, प्रमाणीकरण प्रक्रिया पारदर्शी, व्यवस्थित र छिटोछरितो हुने मन्त्रालयको विश्वास छ।