काठमाडौँ– आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति सरकार र अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठाएकी छन्।
उनले प्रसव पीडामा रहेकी महिलालाई तत्काल अस्पतालमा भर्ना गरी सुरक्षित प्रसूतिको व्यवस्था गर्नुपर्नेमा अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनुमा अस्पताल प्रशासनको कमजोरी रहेको बताइन्। उनले संविधानले स्वास्थ्य, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा त्यसको अनुभूति गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन्। उनले अस्पताल प्रशासनले बिरामी अस्पतालबाट कहिले र कसरी बाहिरिइन् भन्नेबारे समेत जानकारी भनी दिएको जवाफप्रति समेत आपत्ति जनाइन्। राजविराज नगरपालिका–१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएकोमााा उनीसँग उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालले भर्ना गर्न अस्वीकार गरेको थियो। पासवानसँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र रहेको र सो रकमका कारण अस्पतालले भर्ना लिन अस्वीकार गरिएको छ।
सांसद कार्कीले भनिन्, ‘संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौँ, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक लेख्यौँ। तर कागजमा लेखिएको निस्शुल्क सेवा र नागरिकले पाउने वास्तविक व्यवहारिक सेवामा यति धेरै दुरी किन सभामुख महोदय ? मेरा केही प्रश्न छन्। प्रसव पीडामा भएकी महिलालाई तत्काल भर्ना गरेर तपाईँ कतै नजानुस् है तपाईँको घर खुलिसकेको छ, तपाईँलाई हामी निरन्तर हेर्छौँ भन्नुपर्ने थियो। त्यो भनियो कि भनिएन ? अनि अस्पतालले हामीलाई जानकारी नै छैन कुन बेला बिरामी निस्किएर गयो भनेर भन्न पाउँछ ?’
उनले बबिताजस्ता हरेक सुत्केरी र प्रसव पीडा भएका महिलासम्म राज्य पुग्नुपर्ने बताइन्।