निजी लगानीको वातावरण सुधार्न पुराना कानुन हटाउनुपर्छ : अध्यक्ष पाण्डे - Chaitanya News
  • 2026-09-11
  • 12:49:07
  • शुक्रबार,भाद्र २६, २०८३
  • निजी लगानीको वातावरण सुधार्न पुराना कानुन हटाउनुपर्छ : अध्यक्ष पाण्डे

    निजी लगानीको वातावरण सुधार्न पुराना कानुन हटाउनुपर्छ : अध्यक्ष पाण्डे

    काठमाडौं– नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको लगानी विस्तार र औद्योगिक विकासका लागि नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

    शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारण सभामा बोल्दै अध्यक्ष पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित पुराना, जटिल र एकआपसमा बाझिएका कानुन तथा प्रक्रियाका कारण व्यवसायीले अतिरिक्त लागत र अनिश्चितता व्यहोर्नुपरेको बताए।

    उनले आर्थिक विकासका लागि सरकारले पुराना र अप्रासंगिक आर्थिक कानुन खारेज तथा आवश्यक कानुन संशोधनलाई तीव्रता दिनुपर्नेमा जोड दिए। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै उनले कानुनी जटिलता हटाएर लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरे।

    अध्यक्ष पाण्डेका अनुसार अहिले नेपालको अर्थतन्त्रका लागि पुँजीगत खर्च बढाउनु, आयोजना कार्यान्वयनलाई गति दिनु, निजी लगानी आकर्षित गर्नु र बजारमा माग सिर्जना गर्नु मुख्य चुनौती हुन्। सरकारले बजेट तथा नीति कार्यक्रममा घोषणा गरेका कार्यक्रम कार्यान्वयन भए–नभएको विषयमा समेत निरन्तर निगरानी आवश्यक रहेको उनले बताए।

    ‘सरकारले के घोषणा गर्‍यो मात्र होइन, के कार्यान्वयन भयो, कति खर्च भयो, कुन आयोजना अघि बढ्यो, कुन नीति अड्कियो, किन अड्कियो र त्यसको अर्थतन्त्रमा कस्तो प्रभाव पर्‍यो भन्ने विषयमा निरन्तर खोजी र सार्वजनिक बहस आवश्यक छ,’ उनले भने।

    नेपालको आर्थिक विकासमा नीतिगत अस्थिरता र कानुनी जटिल संरचना प्रमुख अवरोधमध्ये रहेको उल्लेख गर्दै पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित धेरै कानुन, नियम र प्रक्रिया रहेको बताए। तीमध्ये कतिपय पुराना तथा कतिपय एकआपसमा बाझिएका कारण व्यवसायको लागत र अनिश्चितता बढिरहेको उनको भनाइ छ।

    सरकारले पुराना कानुन खारेज तथा सुधारतर्फ अघि बढाएको कदम सकारात्मक रहेको उनले बताए। कानुनी सुधारसँगै नीति कार्यान्वयनमा देखिएका कमजोरी हटाउन सके निजी क्षेत्रको लगानी र औद्योगिक गतिविधि विस्तार गर्न सहज हुने उनको धारणा छ।

    अध्यक्ष पाण्डेले आर्थिक पत्रकारिताले नीति सुधार र आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उद्योगी–व्यवसायीले भोगेका समस्या, सरकारी नीति, कार्यान्वयनको अवस्था, बजारका प्रवृत्ति तथा अर्थतन्त्रका सम्भावनालाई तथ्यका आधारमा सार्वजनिक बहसमा ल्याउने काम आर्थिक पत्रकारिताले गरिरहेको उनले बताए।

    सीएनआईले पनि नीति अनुसन्धान, तथ्यमा आधारित सुझाव, सार्वजनिक–निजी संवाद तथा नीतिगत सुधारका लागि निरन्तर पैरवी गर्दै आएको पाण्डेले उल्लेख गरे। औद्योगिक विकास, लगानी प्रवर्द्धन, निर्यात विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, डिजिटल रूपान्तरण, ऊर्जा, पर्यटन र उद्यमशीलताका क्षेत्रमा परिसंघले विभिन्न पहल गर्दै आएको उनले बताए।