सशस्त्र प्रहरीमा ६६६ पदमा रोजगारीको अवसर, जवानतर्फ मात्रै ६०४ जनाको माग - Chaitanya News
  • 2026-09-12
  • 10:49:42
  • शनिबार,भाद्र २७, २०८३
  • सशस्त्र प्रहरीमा ६६६ पदमा रोजगारीको अवसर, जवानतर्फ मात्रै ६०४ जनाको माग

    सशस्त्र प्रहरीमा ६६६ पदमा रोजगारीको अवसर, जवानतर्फ मात्रै ६०४ जनाको माग

    काठमाडौँ– सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा नयाँ जनशक्ति भर्नाका लागि आवेदन खुलाएको छ। बलले जवानदेखि विभिन्न ट्रेडका परिचरसम्म गरी ६६६ पदमा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न लागेको हो।

    सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

    खुलाइएको पदमध्ये सबैभन्दा धेरै सशस्त्र प्रहरी जवानका लागि ६०४ जनाको दरबन्दी छ। यसमध्ये खुलातर्फ ३२६, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ तथा अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट छुट्याइएको छ।

    त्यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ ट्रेडमा ६२ जना सशस्त्र प्रहरी परिचर माग गरिएको छ। भान्छे पदमा ३८, कूचिकारमा ८, केशकर्तकमा ७, सूचिकारमा ६, चर्मकर्मीमा २ र मालीमा १ जनाका लागि आवेदन खुलाइएको छ। यी पदमा पनि खुला तथा समावेशी समूहअनुसार कोटा निर्धारण गरिएको छ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिएका उम्मेदवारले असोज ३० गतेभित्र आफूले आवेदन दिएको सम्बन्धित कार्यालयमा उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ।

    उम्मेदवारले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकसहित देशभर तोकिएका बाहिनी मुख्यालय, गण तथा गुल्मबाट आवेदन फाराम बुझाउन सक्ने व्यवस्था गरिएको छ।