रसुवा बाढीमा १,३७७ जनाको मृत्यु, ५ हजारभन्दा बढीको अवस्था अज्ञात - Chaitanya News
  • 2026-10-29
  • 08:44:11
  • बिहिबार,कार्तिक १३, २०८३
  • रसुवा बाढीमा १,३७७ जनाको मृत्यु, ५ हजारभन्दा बढीको अवस्था अज्ञात

    रसुवा बाढीमा १,३७७ जनाको मृत्यु, ५ हजारभन्दा बढीको अवस्था अज्ञात

    काठमाडौँ– रसुवा बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहे पनि ५ हजार १३० जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३७७ पुगेको छ।

    प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै हालसम्म १३ हजार ६५६ जनाको सफल उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका तथा प्रभावित नागरिकको व्यवस्थापनका लागि विभिन्न स्थानमा ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्।

    प्राधिकरणका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी चितवनका ३६४ जना छन्। नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा दुई जनाको समेत मृत्यु भएको छ।

    बेपत्ता भएकामध्ये रसुवा र नुवाकोट क्षेत्रका नागरिकको सङ्ख्या उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ। हालसम्म १०४ वटा शवको सनाखत भइसकेको छ।

    उद्धारपछि नुवाकोटका २ हजार ६१५, रसुवाका ७७५ र धादिङका २९५ जना गरी कुल ३ हजार ६८५ जना विभिन्न होल्डिङ सेन्टरमा आश्रित छन्।

    बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि सुरक्षाकर्मीको ठूलो जनशक्ति परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन भएका छन्। त्यसमध्ये नेपाली सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना छन्।

    उद्धार तथा राहत सामग्री ओसारपसारका लागि नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरीले २७२ वटा हवाई उडान गरेका छन्। स्वास्थ्य उपचारतर्फ नेपाली सेनाबाट ३ हजार ५५९ र सशस्त्र प्रहरीबाट ३ हजार ६०६ जनाले सेवा पाएका छन्।

    हाल विभिन्न १९ अस्पतालमा ३३३ जना उपचाररत छन् भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्।

    सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई समेत निरन्तरता दिएको छ। रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। यस्तै, प्रभावित १५ पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ।

    सडक तथा हवाईमार्गबाट खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम जारी छ। उद्धारसँगै बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र विस्थापितको व्यवस्थापनलाई प्राथमिकतामा राखेर राहत तथा पुनर्स्थापनाका काम अघि बढाइएको छ।