काठमाडौँ– रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विद्यालयमा भौतिक अवस्था सामान्य हुँदैमा तत्काल नियमित कक्षा सञ्चालन नगर्न शिक्षा विभागले निर्देशन दिएको छ। बाढीबाट प्रभावित विद्यार्थी मानसिक र भावनात्मक रूपमा विद्यालय फर्कन तयार छन् कि छैनन् भन्ने सुनिश्चित गरेपछि मात्रै पठनपाठन अघि बढाउन विभागले सम्बन्धित स्थानीय तह र विद्यालयलाई आग्रह गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत विभागको योजना तथा कार्यक्रम शाखाले बुधबार पत्राचार गर्दै प्रभावित विद्यालयमा कक्षा सञ्चालन गर्नुअघि विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न निर्देशन दिएको हो।
बाढी तथा त्यसबाट सिर्जित क्षतिका कारण बालबालिकामा भय, त्रास, तनाव, शोक र असुरक्षाको भावना देखिन सक्ने विभागको भनाइ छ। यस्तो अवस्थामा विद्यालय फर्किएका विद्यार्थीको सिकाइमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले मानसिक अवस्थालाई प्राथमिकतामा राख्न भनिएको हो।
स्वास्थ्यकर्मीको सहयोग लिन निर्देशन:
विभागले प्रभावित विद्यालय र स्थानीय तहलाई नजिकका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न भनेको छ।
मनोसामाजिक सहयोग आवश्यक देखिएका विद्यार्थीलाई परामर्श तथा आवश्यक थप सहयोग उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ। विद्यार्थी नियमित पठनपाठनका लागि मानसिक तथा भावनात्मक रूपमा तयार भएको सुनिश्चित भएपछि मात्रै कक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
विद्यालयको भौतिक सुरक्षासँगै मानसिक सुरक्षामा पनि जोड:
बाढी प्रभावित विद्यालय सञ्चालन गर्दा भवन र कक्षाकोठाको अवस्था मात्रै नभई विद्यार्थीको मानसिक सुरक्षालाई समेत ध्यान दिन विभागले आग्रह गरेको छ।
विद्यालय भवन, कक्षाकोठा, खानेपानी, सरसफाइ तथा विद्यालयसम्मको आवागमन सुरक्षित हुनुपर्ने विभागले जनाएको छ। साथै, बालबालिकाले आफूलाई सुरक्षित महसुस गर्ने भयमुक्त, सुरक्षित र बालमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिइएको छ।
पढाइ रोकिए पनि बालबालिकाको मनोवैज्ञानिक असर नरोकिने:
विभागले विपद्का कारण विद्यार्थीको शैक्षिक निरन्तरता प्रभावित हुन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने जनाएको छ। तर नियमित पढाइ सुरु गर्ने हतारमा बालबालिकामा परेको मनोवैज्ञानिक असरलाई बेवास्ता गर्न नहुने उसको निष्कर्ष छ।
विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायबीच समन्वय गरी प्रभावित विद्यार्थीको सुरक्षा, मनोसामाजिक अवस्था र शैक्षिक निरन्तरतालाई एकसाथ अघि बढाउन विभागले निर्देशन दिएको छ।
यसअघि विभागले प्रभावित विद्यालय तथा विद्यार्थीको अवस्था बुझ्न द्रुत सर्वेक्षण टोली परिचालन गर्ने तथा आवश्यकता हेरी अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री र मनोसामाजिक परामर्शको व्यवस्था गर्ने जनाएको थियो।
