प्रविधिको गति तीव्र छ । एउटा अहंम प्रश्न :- के मानवीय विवेक पनि त्यही गतिमा अघि बढिरहेको छ? एआई र सामाजिक सञ्जालले अभूतपूर्व सम्भावना खोलेका छन्। तर तथ्यभन्दा अफवाह, संवेगभन्दा आक्रोश र विवेकभन्दा भीडको मनोविज्ञान हावी हुँदै गयो भने डिजिटल क्रान्ति मानव प्रगतिभन्दा मानव चेतनाकै संकट बन्न सक्छ।
मानव सभ्यताको इतिहास हेर्दा प्रत्येक ठूलो प्राविधिक परिवर्तनले मानिसको जीवनशैली मात्र होइन, उसको सोच्ने तरिका पनि परिवर्तन गरेको देखिन्छ। ढुगे युग, कृषि, लेखन, छापाखाना, विद्युत्, औद्योगिक उत्पादन, कम्प्युटर र इन्टरनेट हुँदै आज हामी कृत्रिम बुद्धिमत्ता (AI) को युगमा प्रवेश गरेका छौँ। एआईले मानिसको बौद्धिक काम, निर्णय र सिर्जनात्मक प्रक्रियामै प्रत्यक्ष हस्तक्षेप गर्न थालेको छ। यही कारण आजको मूल प्रश्न ‘एआई कति शक्तिशाली हुन्छ?’ भन्दा पनि ‘एआईसँगै मानिस कस्तो बन्छ?’ भन्ने हो।
हजारौँ वर्षअघि पूर्वीय दर्शनले मानिसलाई बाहिरी संसारसँगै आफ्नै अन्तर्मनको खोज गर्न प्रेरित गर्यो। उपनिषद्का ‘अहं ब्रह्मास्मि’ जस्ता अवधारणाले आत्मबोध र चेतनालाई महत्व दिए। आधुनिक विज्ञानले भने प्रयोग, प्रमाण र परीक्षणमार्फत ब्रह्माण्ड, पदार्थ, ऊर्जा र जीवनका रहस्य खोजिरहेको छ। यी दुई परम्परालाई एउटै वैज्ञानिक प्रमाणको रूपमा प्रस्तुत गर्नु उचित हुँदैन। तर एउटा रोचक समानता अवश्य छ: दुवैले मानिसलाई सतहभन्दा गहिरो वास्तविकताको खोजतर्फ धकेल्छन्। आजको डिजिटल युगमा भने हाम्रो ध्यान बाह्य संसारले असाधारण रूपमा कब्जा गर्न थालेको छ।
एआई : विकासको नयाँ इन्जिन
एआईलाई केवल च्याटबोट वा फोटो बनाउने उपकरणका रूपमा बुझ्नु यसको वास्तविक सम्भावनालाई सानो बनाउनु हो। विश्वभर एआईको प्रयोग स्वास्थ्य, कृषि, वित्त, शिक्षा, वैज्ञानिक अनुसन्धान, उत्पादन र सार्वजनिक सेवामा तीव्र रूपमा बढिरहेको छ। औषधि अनुसन्धानमा नयाँ सम्भावित अणु पहिचानदेखि मेडिकल इमेज विश्लेषणसम्म एआईले अनुसन्धानको गति बढाइरहेको छ। मौसम तथा जलवायुको जटिल मोडलिङ, भाषानुवाद र वैज्ञानिक गणनामा पनि यसको उपयोग विस्तार हुँदैछ। जेनेरेटिभ एआईले लेखन, डिजाइन, संगीत, प्रोग्रामिङ र अनुसन्धानको प्रक्रियामा ठूलो परिवर्तन ल्याएको छ। एउटा व्यक्तिले पहिले धेरै समय लगाएर गर्ने काम अब एआईको सहयोगमा निकै कम समयमा गर्न सक्ने भएको छ। तर उत्पादकत्व बढ्नु र मानव कल्याण बढ्नु एउटै कुरा होइन। यदि एआईले कामको समय बचाउँछ भने त्यो समय हामीले ज्ञान, सिर्जना, परिवार, समाज र आत्मविकासमा लगानी गर्छौँ कि अझ बढी डिजिटल उपभोगमा? यही प्रश्न निर्णायक छ।
नेपालका लागि एआई : जोखिमभन्दा ठूलो अवसर
नेपालका लागि एआईलाई विलासिताको प्रविधिका रूपमा हेर्ने गल्ती गर्नु हुँदैन। सही नीति, पूर्वाधार र दक्ष जनशक्ति निर्माण गर्न सके एआईले विकासको दूरी छोट्याउन सक्छ। नेपालको कृषि क्षेत्रमा मौसम पूर्वानुमान, माटोको विश्लेषण, रोग पहिचान र उत्पादन योजना बनाउन डेटा तथा एआई प्रयोग गर्न सकिन्छ। स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सकको पहुँच न्यून भएका ठाउँमा डिजिटल स्वास्थ्य प्रणाली र एआईमा आधारित निर्णय–सहयोग उपयोगी हुन सक्छ। शिक्षामा व्यक्तिगत सिकाइ, भाषानुवाद र डिजिटल सामग्रीले पहुँच विस्तार गर्न सक्छ।
सबैभन्दा ठूलो सम्भावना भने युवाशक्तिमा छ। नेपालले ठूलो संख्यामा युवा जनशक्ति उत्पादन गर्छ। इन्टरनेट र डिजिटल सीपसँग जोडेर उनीहरूलाई विश्वव्यापी डिजिटल अर्थतन्त्रमा सहभागी गराउन सकियो भने एआई रोजगारी गुमाउने मात्र होइन, नयाँ रोजगारी र उद्यम सिर्जना गर्ने माध्यम बन्न सक्छ।
तर यसको अर्को पाटो पनि छ: डिजिटल विभाजन। इन्टरनेट र एआईको पहुँच समान नभए प्रविधिले असमानता घटाउने होइन, अझ बढाउने सम्भावना हुन्छ। त्यसैले एआई नीति केवल प्रविधि मन्त्रालय वा आईटी क्षेत्रको विषय होइन; यो शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सामाजिक न्यायसँग जोडिएको राष्ट्रिय मुद्दा हो।
तर हाम्रो ‘डिजिटल कुरुक्षेत्र’ किन गम्भीर हुँदैछ?
प्रविधिको सबैभन्दा ठूलो विरोधाभास सामाजिक सञ्जालमा देखिन्छ।
सामाजिक सञ्जालले सामान्य नागरिकलाई विचारको चौतारी, आवाजविहिनको आवाज दिएको छ। पत्रकारिता, नागरिक अभियान, व्यवसाय, शिक्षा र सार्वजनिक बहसका लागि यसले नयाँ ढोका खोलेको छ। तर यही माध्यम गलत सूचना, अफवाह, घृणात्मक अभिव्यक्ति र चरित्रहत्याको तीव्र प्रसार गर्ने शक्तिशाली संरचना पनि बन्न सक्छ। वर्तमान समाजमा कुनै घटना भयो भने हामीमध्ये धेरैले पहिले प्रश्न गर्दैनौँ ‘तथ्य के हो?’
बरु प्रश्न हुन्छ—‘भाइरल के भइरहेको छ?’
एउटा भिडियोको केही सेकेन्ड, एउटा शीर्षक वा एउटा पोस्टका आधारमा मानिसलाई दोषी वा निर्दोष ठहर गर्ने प्रवृत्ति बढेको छ। सामाजिक सञ्जालको ‘ट्रेन्ड’ ले कहिलेकाहीँ न्यायिक प्रक्रियाभन्दा अगाडि नै सार्वजनिक फैसला सुनाइदिन्छ।
यो लोकतन्त्रका लागि खतरनाक प्रवृत्ति हो। लोकतन्त्रमा जनताको आवाज महत्वपूर्ण हुन्छ। तर भाइरल आवाज र सत्य एउटै कुरा होइनन्।
हजारौँ मानिसले एउटै गलत सूचना साझा गरे पनि त्यो सही हुँदैन। धेरै ‘लाइक’ पाएको विचार प्रमाणित तथ्य बन्दैन।
अफवाह किन यति शक्तिशाली हुन्छ?
यसको एउटा कारण मानव मनोविज्ञान हो। डर, आक्रोश, घृणा र सनसनी पैदा गर्ने सामग्रीले मानिसको ध्यान सजिलै तान्छ। सामाजिक सञ्जालका व्यावसायिक मोडलहरू पनि प्रयोगकर्ताको ध्यान र संलग्नता बढाउनेतर्फ केन्द्रित हुन्छन्। परिणामतः उत्तेजक सामग्रीले शान्त, सन्तुलित र तथ्यपूर्ण सामग्रीलाई पछाडि पार्न सक्छ। यही ठाउँमा ‘एल्गोरिदमिक एम्प्लिफिकेसन’ अर्थात् कुनै सामग्रीको पहुँच प्रणालीगत रूपमा तीव्र बढ्ने प्रक्रिया महत्वपूर्ण हुन्छ।
यसले एउटा खतरनाक चक्र निर्माण गर्न सक्छ:
आक्रोश → धेरै प्रतिक्रिया → धेरै पहुँच → अझ धेरै आक्रोश।
अन्ततः समाजले तथ्यमा आधारित बहस होइन, भावनामा आधारित समूहगत ध्रुवीकरण अनुभव गर्न थाल्छ। नेपालमा यसको असर सामान्य नागरिकदेखि सार्वजनिक व्यक्तित्व र राजनीतिक नेतृत्वसम्म देखिन थालेको छ। नेतृत्वले सामाजिक सञ्जाललाई जनभावना बुझ्ने एउटा माध्यमका रूपमा प्रयोग गर्नु स्वाभाविक हो। तर यदि सार्वजनिक नीति नै ‘आज सामाजिक सञ्जालमा के ट्रेन्ड भइरहेको छ?’ भन्ने प्रश्नबाट निर्देशित हुन थाल्यो भने लोकतान्त्रिक संस्थाहरू कमजोर हुन सक्छन्। लोकप्रियता र नीति एउटै कुरा होइन। भीडको प्रतिक्रिया र जनहित पनि सधैँ एउटै हुँदैन। आलोचना चाहिन्छ, तर चरित्रहत्या होइन यहाँ अर्को महत्वपूर्ण भिन्नता छुट्याउन आवश्यक छ। सामाजिक सञ्जालमा आलोचना हुनु लोकतन्त्रको समस्या होइन। बरु स्वस्थ आलोचना लोकतन्त्रको आवश्यकता हो। समस्या तब सुरु हुन्छ, जब आलोचना व्यक्तिमाथिको अपमानमा बदलिन्छ; प्रश्न प्रमाणभन्दा गालीमा बदलिन्छ; असहमति चरित्रहत्यामा बदलिन्छ।
हामीले सार्वजनिक व्यक्तिको जवाफदेहिता माग्नुपर्छ। भ्रष्टाचारको प्रश्न उठाउनुपर्छ। सरकारका गलत निर्णयको आलोचना गर्नुपर्छ। पत्रकारिताले सत्तालाई प्रश्न गर्नुपर्छ। तर प्रश्न उठाउनु र फैसला सुनाउनु एउटै होइन। लोकतन्त्रलाई आलोचक चाहिन्छ, डिजिटल प्रभावित भीड होइन।
मानवीय चेतनाको संकट
डिजिटल युगको सबैभन्दा गम्भीर समस्या प्रविधि बाहिर होइन, मानिसभित्र हुन सक्छ।
सामाजिक सञ्जालले मानिसलाई हजारौँ व्यक्तिसँग जोड्छ, तर त्यसले आत्मीय सम्बन्धको ग्यारेन्टी गर्दैन। निरन्तर अरूसँग तुलना गर्ने संस्कृति, लोकप्रियताको दबाब र डिजिटल मान्यताको खोजले व्यक्तिको आत्ममूल्यांकन बाह्य प्रतिक्रियामा निर्भर बनाउन सक्छ। ‘कति लाइक आयो?’ भन्ने प्रश्न कहिलेकाहीँ ‘मैले के राम्रो गरेँ?’ भन्दा महत्वपूर्ण हुन थाल्छ। यहीँबाट बाह्य चेतनाको दासत्व सुरु हुन सक्छ। हामीले के खाने, के हेर्ने, के किन्ने, के सोच्ने र कुन विषयमा आक्रोशित हुनेसम्म एल्गोरिदमले प्रभावित गर्न थाले भने हाम्रो स्वतन्त्र निर्णय क्षमतामाथि प्रश्न उठ्छ। त्यसैले डिजिटल युगमा सबैभन्दा महत्वपूर्ण सीप कोडिङ मात्र होइन: आफ्नो ध्यानमाथि नियन्त्रण हो।
अब के गर्ने?
पहिलो आवश्यकता हो: डिजिटल साक्षरता।
विद्यालय र विश्वविद्यालयमा कम्प्युटर चलाउन सिकाउनु मात्र पर्याप्त छैन। विद्यार्थीलाई सूचना कसरी प्रमाणित गर्ने, स्रोत कसरी जाँच्ने, एआईले दिएको उत्तरमा सम्भावित त्रुटि कसरी पहिचान गर्ने र डिजिटल सामग्रीको नैतिक प्रयोग कसरी गर्ने भन्ने सिकाउनुपर्छ।
दोस्रो: फ्याक्ट–चेकिङ संस्कृतिको विकास।
सरकार, सञ्चारमाध्यम, शैक्षिक संस्था र नागरिक समाजले तथ्य जाँच्ने संयन्त्रलाई बलियो बनाउनुपर्छ। नागरिकले पनि ‘शेयर गर्नुअघि जाँच’ गर्ने संस्कार विकास गर्नुपर्छ।
तेस्रो: एआईको जिम्मेवार नियमन।
गलत सूचना, साइबर बुलिङ, ठगी, गोपनीयताको उल्लङ्घन र डिजिटल चरित्रहत्याजस्ता समस्यालाई सम्बोधन गर्न स्पष्ट कानुनी संरचना आवश्यक छ। तर नियमनको नाममा आलोचना वा अभिव्यक्ति स्वतन्त्रता दबाउने काम हुनु हुँदैन।
चौथोः मानवीय मूल्यसहितको प्रविधि शिक्षा।
हामीले युवालाई एआई प्रयोग गर्न सिकाउनुपर्छ, तर एआईले निर्णय गर्नुअघि मानिसले प्रश्न गर्नुपर्छ भन्ने पनि सिकाउनुपर्छ। प्रविधि दक्षता र नैतिक चेतना सँगसँगै अघि बढ्नुपर्छ।
अन्तिम प्रश्न : मालिक को हो?
एआई मानव इतिहासको अन्तिम आविष्कार होइन। सम्भवतः यो अझ ठूलो प्राविधिक परिवर्तनको सुरुवात मात्र हो। त्यसैले आजै हामीले आफ्नो दिशा निर्धारण गर्नुपर्छ। हामी एआईलाई शिक्षा, स्वास्थ्य, कृषि, अनुसन्धान, सुशासन र सिर्जनाको साधन बनाउने कि सामाजिक विभाजन, भ्रम र घृणाको इन्धन? हामी सामाजिक सञ्जाललाई नागरिक संवादको मञ्च बनाउने कि डिजिटल कुरुक्षेत्र? निर्णय प्रविधिले गर्दैन। निर्णय मानिसले गर्छ। त्यसैले आजको सबैभन्दा महत्वपूर्ण प्रश्न ‘कृत्रिम बुद्धिमत्ता कति बुद्धिमान हुँदैछ?’ होइन। प्रश्न हो:
‘मानव बुद्धिमत्ता कति विवेकी हुँदैछ?’
हजारौँ वर्षअघि पूर्वीय दर्शनले मानिसलाई आफूभित्र फर्केर हेर्न सिकायो। आजको प्रविधिले मानिसलाई संसारको कुनै पनि कुनासँग जोड्ने क्षमता दिएको छ। अब हाम्रो चुनौती यी दुई क्षमतालाई जोड्नु हो। बाहिर विश्वसँग जोडिने प्रविधि र भित्र आफैँसँग जोडिने चेतना। एआई हाम्रो मालिक होइन, सहयोगी हुनुपर्छ। सामाजिक सञ्जाल हाम्रो विवेकको विकल्प होइन, संवादको माध्यम हुनुपर्छ। किनकि अन्ततः सभ्यताको सफलता हामीले कति शक्तिशाली मेसिन बनायौँ भन्नेमा मात्र निर्भर हुँदैन। हामीले ती शक्तिशाली मेसिन चलाउँदा आफू कति मानवीय रह्यौँ भन्ने कुरामा निर्भर हुन्छ। डिजिटल कुरुक्षेत्रमा अन्तिम विजय प्रविधिको होइन: सत्य, विवेक र मानवीय चेतनाको हुनुपर्छ।
सर्वेभवन्तु सुखिन:
–गणेश जोशी