काठमाडौँ– रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा आएको चीनसँगको कोरला नाकाबाट भित्रिने सामानको भन्सार जाँचपास अब काठमाडौँमै गर्न सकिने भएको छ।
भन्सार विभागले मुस्ताङस्थित नेचुङ (कोरला) नाकाबाट पैठारी हुने वस्तुलाई मुस्ताङ भन्सार कार्यालयमै जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत सिधै काठमाडौँको चोभार सुक्खा बन्दरगाहसम्म ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेको हो।
विभागले भन्सार नियमावलीमा तोकिएका सर्त र प्रक्रिया पूरा गर्ने गरी यस्तो सुविधा दिएको जनाएको छ। यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू हुनेछ।
यसअघि कोरला नाकाबाट भित्रिएका सामानको भन्सारसम्बन्धी प्रक्रिया मुस्ताङमै पूरा गर्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्थासँगै निर्धारित प्रक्रिया पूरा गरी सामान चोभारसम्म ल्याएर त्यहीँबाट भन्सार जाँचपास गर्न सकिने भएको छ।
कोरला नाकाबाट चोभारसम्म सामान ढुवानी गर्ने मालवाहक सवारीका लागि विभागले मुख्य तथा वैकल्पिक सडक मार्गसमेत तोकेको छ। मुख्य मार्गअन्तर्गत नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलंकी हुँदै चोभार पुग्नुपर्नेछ।
मुख्य सडकमा समस्या आएमा मुग्लिङ–नारायणघाट–हेटौँडा–भैंसे–नौबिसे–कलंकी–चोभार हुँदै सुक्खा बन्दरगाह पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।
त्यस्तै, गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि तत्काल हेटौँडातर्फको रुट निर्धारण गरिएको छ।
रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारका लागि कोरला नाकाको प्रयोग बढ्दै गएको छ। यही अवस्थालाई ध्यानमा राख्दै कोरला नाकाबाट हुने आयातलाई सहज बनाउन भन्सार विभागले सामानलाई आन्तरिक परिवहनमार्फत चोभार ल्याई जाँचपास गर्ने सुविधा दिएको हो।
नयाँ व्यवस्थाले कोरला नाकाबाट आयात हुने सामानको भन्सार प्रक्रिया काठमाडौँमै पूरा गर्न सकिने भएकाले आयातकर्तालाई थप सहज हुने अपेक्षा गरिएको छ।
