‘म कहाँ छु भनेर होइन, परिणाम हेर्नुस्’: आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ - Chaitanya News
  • 2026-09-04
  • 13:42:13
  • शुक्रबार,भाद्र १९, २०८३
  • ‘म कहाँ छु भनेर होइन, परिणाम हेर्नुस्’: आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ

    ‘म कहाँ छु भनेर होइन, परिणाम हेर्नुस्’: आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ

    काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्का बेला आफू मन्त्रालयको कुर्सीमा बसेर मात्र नेतृत्व गरिरहेको भन्ने आलोचनाको प्रतिवाद गर्दै आफ्नो कार्यशैलीको मूल्यांकन भौतिक उपस्थितिभन्दा प्राप्त परिणामका आधारमा गर्न आग्रह गरेका छन्।

    शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले डिजिटल माध्यमबाट विपद् प्रतिकार्यको कमान्ड तथा रणनीतिक निर्णयहरू प्रभावकारी रूपमा भइरहेको दाबी गरेका हुन्।

    उनका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ। अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू भइरहेका छन्।

    गृहमन्त्री गुरुङले पुरानो शैलीको नेतृत्वलाई समयअनुकूल नभएको टिप्पणी गर्दै मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्नु मात्रै नेतृत्वको मानक नभएको बताएका छन्।

    ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप),’ उनले लेखेका छन्।

    उनले फिल्डको वास्तविक अवस्था नबुझी कार्यालयबाट मात्र नेतृत्व गर्ने पुरानो कार्यशैलीका कारण विगतमा अपेक्षित परिणाम आउन नसकेको तर्क गरेका छन्। अहिले डिजिटल प्रविधिको प्रयोगमार्फत प्रशासनिक तथा उद्धारसम्बन्धी कामलाई थप छिटो र प्रभावकारी बनाइएको उनको दाबी छ।

    ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ,’ उनले भनेका छन्।

    गृहमन्त्री गुरुङले आफू कहाँ बसेको छु भन्ने विषयलाई भन्दा विपद् प्रतिकार्यमा सरकारले हासिल गरेको परिणामलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

    ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु,’ उनले भनेका छन्।

    रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा विपद् व्यवस्थापनमा गृहमन्त्रीको कार्यशैली र उनको प्रत्यक्ष भौतिक उपस्थितिलाई लिएर राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा प्रश्न उठिरहेका बेला गुरुङको यस्तो धारणा सार्वजनिक भएको हो।